नेपालगञ्ज, असार १७ गते । भारतबाट विभिन्न व्यावसायिक सामग्री लिएर नेपाल आएका कन्टेनर फर्किने क्रममा तस्करीका सामान भरेर फर्किने गरेको छ । नेपालबाट भारततर्फ फर्किरहेको आरजे ०९ जीबी ४५४२ नम्बरको कन्टेनर भारत छिर्न शुक्रवार विहान जमुनाहामा पुगेर इन्ट्री गराउने क्रममा सोधपुछ गर्दा चालक भागेपछि कन्टेनर नियन्त्रणमा लिई खानतलाशी गर्दा ठूलो परिमाणमा अफिमका दाना भरिएका बोराहरु भेटिएको छ । 

निकासी प्रमाणीकरणबिनाको लकमा शील गरेर कन्टेनर जमुनाहा नाकाबाट भारत जाँदैगरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताउनुभयो । कन्टेनरको लकर फोडेर हेर्दा त्यसमा सयौंको संख्यामा भरिएका बोराहरु भेटिएको र हालसम्म खोलिएका बोरामा अफिमको दाना (पोश्ता दाना) फेला परेको उहाँले बताउनुभयो । 

कन्टेनरमा करिब २५० बोरा रहेको अनुमान गरिएको जनाउँदै प्रहरीले ती सबै बोरा खोलेर चेकजाँच गर्ने कार्य गरिरहेको पनि डीएसपी न्यौपानेले बताउनुभयो । यति धेरै सामान लोड भएको र सिलबन्दी गरिएको कन्टेनर मुख्य भन्सार कार्यालय नेपालगञ्ज पार गरेर सीमानासम्म कसरी पुग्यो सो बारेमा पनि अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ । 

तर नेपालगञ्ज कार्यालयका प्रमुख अर्जुन सुवेदीले जमुनाहामा पनि भन्सारको मुख्य कार्यालय रहेकाले त्यहाँ नियन्त्रणमा लिंदा पनि भन्सारका कर्मचारी समेत संलग्न रहेको बताउनुभयो । अवैध रुपमा मुख्य नाकाबाटै भारत लैजान खोजिएको अफिमको दाना भनेको पोश्ता दाना हो । यो निकै महंगो पर्नेगरेको र विशेषगरी मासुका परिकार र औषधीमा प्रयोग गर्ने गरिएको बताइएको छ । 

सो दाना टर्कीबाट आएको र भारततर्फ तस्करी हुनेगरेको आशंका प्रहरीले प्रारम्भिक अनुसन्धानमा गरेको छ । सो दाना नेपालभन्दा भारतमा धेरै महंगोमा विक्रि हुनेगरेको बताइएको छ । कन्टेनरमा भित्र गोप्य कोठा बनाएर लकरजस्तो गरी २५–२५ किलोका करिब २५० बोराहरु फेला परेको जमुनाहा प्रहरी प्रमुख वरिष्ठ सई माधव रिजालले बताउनुभयो । उहाँले सो कन्टेरनरको चालकको खोजीसँगै यो कस्को हो र कहाँबाट आई कहाँ गेरहेको हो भन्ने कुराको पनि अनुसन्धान भैरहेको बताउनुभयो ।