उपल्लो मुस्ताङको लोमान्थाङमा बुधबारदेखि सुरु भएको ऐतिहासिक यार्तुङ पर्व तीन दिनसम्म मनाएर शुक्रबार सकिएको छ। यार्तुङ अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक लोमान्थाङमा जम्मा भएका थिए। हिमाली समुदायको महŒवपूर्ण पर्व हो, यार्तुङ।

पर्वको सुरुआती पहिलो दिनमै बिहानै मुस्ताङ्गी ऐतिहासिक राजा जिग्मेपलवर विष्ट तथा रानी धोर्जेयाङ्जी विष्टको बाहुलीबाट लोछेदिनका दुई दर्जन गाउँका मुखियाले आशीर्वाद ग्रहण गरेका थिए।

यार्तुङमा सहभागी हुन सबै गाउँका मुखिया मंगलबार नै लोमान्थाङमा उपस्थित भएका थिए। गाउँका मुखियाले राजारानीलाई खाँदा पहिराएर यार्तुङ पर्वको शुभकामना दिएका थिए। शुभकामना चढाउन आएका गाउँका मुखियालाई राजारानीले रोगव्याधी नलाओस्, अनिष्ट नहोस्, अन्नबाली राम्रो होस्, व्यापार व्यवसाय राम्रो होस् भनी आशीर्वाद प्रदान गरेका थिए। राजाबाट मुखियालाई आशीर्वाद दिएलगत्तै यार्तुङ पर्व शुभारम्भ भएको थियो।

बर्खायामको समयमा खेतीपातीको काम सकेर फुर्सदिलो महिनामा यार्तुङ मनाइएको हो। यार्तुङ अघि गाउँका सबै स्थानीयले अन्न बाली थन्क्याएर फुर्सदमा बसेका हुन्छन्। पर्वले हिउँदयामको सन्देश दिने गर्छ।

यार्तुङसँगै दुई महिना बितेपछि लोछोदिन समुदायका अधिकांश स्थानीय जाडो छल्न बेंसी झर्छन्। बेंसी झर्दा सबैको बसाइँ राम्रो होस् भनेर पनि राजाले गाउँलेलाई आशीर्वाद दिएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङछोम्फेल विष्टले जानकारी दिए।

गाउँका स्थानीय बेंसी झर्नुअघि यार्तुङ तीन दिनसम्म उत्साहका साथ मनाइने विष्टले जानकारी दिए। यारको अर्थ बर्खा र तुङको अर्थ हिउँदको आगमन भन्ने बुझिन्छ। लोमान्थाङमा यार्तुङ फरक प्रकारले मनाउने चलन छ।

यार्तुङ पर्वको अवसरमा तीन दिनसम्म घोडा दौडाउने चलन छ। पहिलो दिन गाउँका उमेर पुगेका ज्येष्ठ नागरिकले विस्तारै घोडा चढेर घोडा कुदाउने रोमाञ्चक र साहसिक खेल प्रदर्शन गरिन्छ। यस अवसरमा गाउँका उमेर नाघेका ज्येष्ठ नागरिकबाट घोडा दौडको शुभारम्भ भएको अध्यक्ष विष्टले बताए।

मुस्ताङ्गी राजा जिग्मेपलपर विष्ट, गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्ट र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङछोम्फेल विष्टलगायत गाउँका युवाले घोडा कुदाएका थिए। पहिलो दिन लोछोदिन समुदायका पुरुषले मात्र घोडा कुदाउने चलन छ। यस्तै दोस्रो दिनको यार्तुङमा महिला र तेस्रो दिन गुम्बाका लामाले घोडा कुदाएका थिए।

घोडा दौड गर्दा करिब १५– १५ मिटरको फेरोमा पीठोले तयार पारिएको याक आकृतिको वस्तु, सेलरोटीलाई ऐना बनाएर बीचमा घ्यार राखिएको वस्तु र भेडाको दाहिने हात भित्रको कुरकुरे हड्डी (घ्यासा­) राखिन्छ। राखिएका वस्तुलाई घोडा दौडाउनेहरूले ढुंगाले हानेर फुटाउने चलन छ। घोडा दौडका सहभागी जसले राखिएका वस्तुलाई फुटाउन सक्छ उसलाई मुस्ताङ्गी राजा, गाउँका मुखिया र स्थानीयले सम्मान गर्छन्। घोडा दौड गर्दा राखिएको वस्तु फुटाउने व्यक्तिलाई गाउँको इज्जत र प्रतिष्ठा बचाइदिएको प्रतीकका रूपमा लिने गरेको अध्यक्ष विष्टले जानकारी दिए।

राजाको साख र प्रतिष्ठा बचाइदिएको भन्दै राजाले गाउँलेलाई पैसा दिने चलन छ। यार्तुङ पर्वमा लोमान्थाङ गाउँका स्थानीयलाई चार भागमा समूह विभाजन गरेर आपसमा रमाइलो गर्छन्। गीत गाउने, नाच्ने र सांस्कृतिक स्याब्रो नाच देखाउने गर्छन्। स्थानीयले दसै पर्वजस्तो गरी यार्तुङ फरक प्रकारले मनाउने अध्यक्ष विष्टले खुलाए। याुर्तङको पहिलो दिन गाउँका प्रत्येक घरधुरीले छ्याङ र खादा लिएर अग्रज व्यक्तिको घरमा पुगेर आशीर्वाद ग्रहण गरेका थिए।

बिहानैदेखि गाउँलेहरू स्थानीय भेषभूषामा सजिएर यार्तुङको सांस्कृतिक कर्म र परम्पराको सुरुआत गरेका थिए। यार्तुङ पर्वमा लोछोदिन समुदायका सबै गाउँले उपस्थित भएका थिए। उपल्लो मुस्ताङमा मनाइने महŒवपूर्ण पर्वमा राजाको सहभागिता हुने गर्छ। यहाँको मुख्य पर्व यार्तुङसहित अर्को तिजी पर्व हो।

(अन्नपूर्ण पोष्ट)