एक प्रकारले हेर्दा नेपाली पत्रकारितामा धेरै प्रगति भएको छ, मानिससँग पहुँच सहज तरिकाले पुगेको छ, अर्कोतिरबाट हेर्ने हो भने केही कमजोरी पनि छन्, त्यसमा सुधार गर्नुपर्छ । हाम्रो पत्रकारिता नकारात्मक पक्षमा बढी गएको छ । राम्रो कुराले धेरै स्थान पाएका छैनन् । एउटै कुरालाई छापा, विद्युतीय सबैखाले समाचार माध्यमले पुष्टि नभएका र सतही ढङ्गबाट सूचना र सन्देश प्रवाह गर्ने गरेका छन् ।

नारद गौतम

नेपालको पहिलो र सबैभन्दा पुरानो अखबार गोरखापत्र आजबाट १२० वर्ष प्रवेश गरेको छ । वि. सं. १९५८ वैशाख २४ गते सोमबारबाट प्रकाशन सुरु भएको गोरखापत्र शताब्दी पार गर्ने दक्षिण एसियाका छवटा अखबारमध्ये एक हो । गोरखापत्र नेपाली भाषाको मानक, पत्रकारिताको गुरु र नेपाली समाजको जिउँदो इतिहास पनि हो । यो भाषा, कला, संस्कृति र साहित्यको संरक्षण गर्ने र समाज परिवर्तनको अगुवा आमसञ्चार माध्यम पनि हो । विज्ञापन, फोटो, कार्टुन प्रयोग गरेर नेपाली पत्रकारितालाई २१औँ शताब्दीसम्म ल्याइपु¥याउन यसको ऐतिहासिक योगदान रहेको छ । राष्ट्रभाषाको प्रमुख संरक्षक बनेको गोरखापत्रमा हाल ३८ भाषाका सामग्री प्रकाशन हुँदै आएका छन् । यो अहिले बहुभाषिक पत्रकारिताको बाहक बनेको छ । सुरुका दिनमा पत्रकार उत्पादन गर्ने विश्वविद्यालयका रूपमा रहेको गोरखापत्र हाल अनलाइन मार्फत देश विदेशका लाखौँ पाठक समक्ष पुगेको छ । ‘बहुजन हिताय, बहुजन सुखाय’ यसको मूल आदर्श हो । पत्रकारिताका सिद्धान्त अनुरूप शुद्ध, सन्तुलन, विश्वसनीय, शिष्ट, नैतिकवान्, स्वच्छ र उत्तरदायित्वलाई यसले आत्मसात् गर्दै आएको छ । 
सूचना दिनु, शिक्षा दिनु, मनोरञ्जन प्रदान गर्नु, उत्प्रेरित गर्नु, प्रमाणीकरण गर्नु, भाव सिर्जना गर्नु, साक्षी बस्नु र खबरदारी गर्नु पत्रकारिताका मुख्य उद्देश्य वा कार्य हुन्, यिनै कार्यलाई गोरखापत्रले शिरोधार्य गर्दै आएको छ । सञ्चारविद्का अनुसार पत्रकारिता पेसामा संलग्न व्यक्तिले समाज र राष्ट्रप्रति गहन जिम्मेवारी पाएको हुन्छ । सूचना वा जानकारीका माध्यमबाट जनतालाई सुसूचित गर्नु पत्रकारको मुख्य काम हो । पत्रकारले समाजमा भइरहेका वा हुन सक्ने घटनाबारे सत्यतथ्य जानकारी प्रदान गर्नुपर्छ । पत्रकारले कुनै पनि आस्थाभन्दा टाढा रहेर निष्पक्ष भई देश र जनताको हितमा कलम चलाउनुपर्छ । गोरखापत्र एउटा खबर मात्र होइन एक सय वर्ष पार गरेको जीवित सम्पदा पनि हो । प्रकाशन इतिहासको गौरवमय १२० वर्ष प्रवेश गरेको अवसरमा नेपालका अग्रज तथा अगुवा पत्रकारसँग नेपालको पत्रकारिताको अहिलेको प्रवृत्ति कस्तो छ भनी राखिएको जिज्ञासामा उहाँहरूले व्यक्त गर्नुभएका विचार यहाँ प्रस्तुत गरिएको छ ः

भाषिक मर्यादा ध्वस्त पारियो 
विजय चालिसे
एक प्रकारले हेर्दा नेपाली पत्रकारितामा धेरै प्रगति भएको छ, मानिससँग पहुँच सहज तरिकाले पुगेको छ, अर्कोतिरबाट हेर्ने हो भने केही कमजोरी पनि छन्, त्यसमा सुधार गर्नुपर्छ । हाम्रो पत्रकारिता नकारात्मक पक्षमा बढी गएको छ । राम्रो कुराले धेरै स्थान पाएका छैनन् । एउटै कुरालाई छापा, विद्युतीय सबैखाले समाचार माध्यमले पुष्टि नभएका र सतही ढङ्गबाट सूचना र सन्देश प्रवाह गर्ने गरेका छन् । पुष्टि हुन बाँकी नै छ तर सबै समाचार माध्यममा एउटै ढर्राका समाचार आउनेगरेको पाइन्छ । नयाँ नयाँ विषय र खोजी समाचारमा ध्यान कमै गएको छ । यस्तो अवस्थामा समाचार सही नै भए पनि पाठकलाई विश्वास गर्न कठिनाइ हुन थालेको छ । राजनीतिक समाचार र विश्लेषण बढी आउँछन् तर त्यसमा सन्तुलनको अभाव देखिन्छ । 
भ्रष्टाचारको कुरा आयो भने पुष्टि गरेको हुँदैन, पत्रकार आफैँ न्यायाधीश बन्ने गरेका छन् । अदालतमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हुन्छ तर आम सञ्चारका माध्यमले यसलाई भ्रष्टाचारी नै घोषणा गर्छन्, यो पत्रकारिताको भावना, मर्म र सिद्धान्त विपरीतको कुरा भयो । अदालतको फैसला नै नआई कसैलाई भ्रष्टाचारी भन्नु गलत कुरा हो । अदालतले आरोप पुष्टि गरेपछि मात्रै भ्रष्टाचारी भन्न मिल्छ, पुष्टि नगरेसम्म आरोप वा आरोपित हुनुपर्छ । विशेष गरी विद्युतीय समाचार माध्यमले भाषिक मर्यादा ध्वस्त पारेका छन् । अरूलाई ‘तिमी’ भन्न पाएपछि आफू ठूलो पत्रकार भएको ठान्छन्, यो ठीक होइन । पत्रकारिता क्षेत्रले अझै केही सिक्नुपर्ने र आफूलाई सच्याउनुपर्ने छ, पत्रकार भनेपछि सबैभन्दा ठूलो हुँ भन्ने अहम् त्याग्नुुपर्छ ।


नकारात्मक पाटो बढी हाबी
देवप्रकाश त्रिपाठी
अहिलेको नेपाली पत्रकारिताको प्रवृत्तिको कुरा गर्दा पहिलाको कुरा पनि खोतल्नुपर्छ । हाम्रो बुझाइ के छ भने ज्यादै बलियो र निरङ्कुश सरकार भयो भने बढी अङ्कुश लाग्छ । वास्तविकता के हो भने ज्यादै बलियो सरकार भयो भने आलोचनाको अपेक्षा राख्दछ र कमजोर सरकारले आलोचना सहन खोज्दैन । गोरखापत्रको इतिहास नै हेर्दा देवशमशेरको पालामा राणा सरकार बलियो थियो । त्यतिबेला निष्पक्ष हुनु, शासकको प्रशंसा नगर्नू (हाम्रो तारिफ नगर्नू) भनेर निर्देशिका (त्यतिबेला सनद भनिन्थ्यो) जारी भएको थियो । त्यति बेलाका शासकलाई प्रशंसा होइन सत्य कुरा चाहिएको थियो । पछिल्लो समयमा मिडियामा ज्यादै अराजक स्थिति देखिएको छ । मिडियाको विकास सङ्ख्यात्मक, प्राविधिक रूपमा पनि राम्रो भयो तर गुणस्तर चाहिँ खस्क्यो । राजनीतिक र व्यापारिक प्रभाव बढ्यो । निष्पक्षताको अभाव खट्किएको छ । पहिला साप्ताहिक अखबारको प्रभाव बढी हुँदा मिसन पत्रकारिता थियो तर अहिले त्यो झन् बढेको छ ।
गोरखापत्र १२० वर्षमा प्रवेश गर्दैगर्दा यो निष्पक्ष र परिपक्क अखबारका रूपमा रहेको छ र रहनुपर्छ । यसमा केही कमजोरी छन् भने त्यसमा सुधार गर्नुपर्छ । यसको आफ्नै ऐतिहासिक महìव छ । नेपालमा सरकारले मिडिया चलाउनुहुँदैन सबै निजीकरण वा सार्वजनिक बनाइनुपर्छ भन्ने सोच पनि छ । कुनै बेलाका सरकार जनताले चुनेका थिएनन् तर अहिले त जननिर्वाचित सरकार छ । जनताको सरकारले आफूले मिडिया चलाउन पाउँदैन भन्ने हुँदैन । सरकारले नै मिडिया चलाउनुपर्ने मुख्य कारण ठूलाठूला लगानीका निजी क्षेत्रका मिडिया कुनै न कुनै स्वार्थबाट परिचालित भएका देखिन्छन् । त्यसै कारण सरकारले गरेका काम जनतासम्म पु¥याउन मिडिया त चाहियो । अराजक स्थिति बढेको छ, मिसन पत्रकारिताको रूप बदलिएर यसको झन् प्रभाव बढेको छ । सबै नराम्रा छन् भन्ने पनि होइन । मिडियाले धेरै राम्रा काम पनि गरेका छन्, सरकारलाई निर्णय गर्न सजिलो भएको छ, मिडियाले जनतालाई सचेत र जागरुक बनाएका छन्, लुकेका कैयौँ कुरा बाहिर ल्याउन सहयोगसमेत पुगेको छ । गुणात्मकभन्दा अहिले बढी नकारात्मक पाटो बढी हाबी भएको देखिन्छ ।

लिपिको विकास प्रज्ञा प्रतिष्ठानले गर्ने हो 
डा. राजेश अहिराज
गोरखापत्र १२० वर्षमा प्रवेश गरेको अवसरमा गोरखापत्र परिवारलाई शुभकामना छ । सरकार र व्यवस्थापनको नीतिगत सबलीकरणको अभावका अतिरिक्त देश र जनताको पक्षमा आफूूलाई उभ्याउन हरपल प्रयास गर्दै आएको गोरखापत्रले संरचना र विषयगत दायरा थप बढाउने क्रम जारी रहोस् । कर्मचारी र पत्रकारको क्षमता र लगानीलाई नै मूल्याङ्कनको आधार बनाउने हो भने गोरखापत्र थप स्तरीय हुँदै जानेछ । गोरखापत्रले हाल ३८ वटा राष्ट्रभाषाका समाचार सामग्री प्रकाशन गर्दै आएको छ । नेपाली भाषामा गोरखापत्र आउने र अन्य भाषाका सामग्री सबै पाठकले बुुझ्न नसक्ने अवस्था छ । एकै जनालाई सबै भाषा र लिपिको ज्ञान नहुन सक्छ । अहिले ज–जसले विभिन्न वर्ग र समुदायको कुरा लेख्दै आउनुभएको छ, उहाँहरूले नेपाली भाषामा लेख्नुभएमा सबै नेपालीले ती समुुदाय र वर्गका कला, संस्कृति, विचार र समस्या सजिलै जान्न पाउँछन् । राष्ट्र भाषा र लिपिको विकास प्रज्ञा प्रतिष्ठान र भाषा आयोगले गर्ने हो । त्यसैले गोरखापत्रमा जति सामग्री छापिन्छन्, ती सबै नेपाली भाषामा हुनुु राम्रो हुन्छ र अन्य भाषाका सामग्री सम्बन्धित भाषामै अलग्गै प्रकाशन गर्दा नेपाली भाषाका पाठकलाई बढी न्याय हुन्छ । देशभरिका नागरिकका मुद्दा, स्थान र संरचनाका आधारमा गोरखापत्र साझा र अग्रणी बनोस् । गोरखापत्र पढ्दा राष्ट्र बोल्नुपर्छ । सुधारको सम्भावना सधैँ रहन्छ ।
कोरोनाको समस्याले अर्थ, समाज र रोजगारी लगायतमा नराम्रो असर गर्ने निश्चित छ । कृषि र स्वरोजगारलाई केन्द्रमा राखेर वैचारिक अभ्यास अगाडि बढाउँदै जान जरुरी छ । नागरिकको जीवन र देशको अखण्डताभन्दा राजनीति ठूलो नहुने भएकाले राजनीति र जातीय विषयलाई अलि कम प्राथमिकतामा राखेर कृषि, नागरिकको सफलता, स्वरोजगार, राज्यको लगानीमाथि निगरानीकर्ता र ज्ञान केन्द्रका रूपमा अगाडि बढ्ने अभ्यासलाई थप गति दिन जरुरी छ । अखबारका सामग्री र पहुँच विस्तार गर्न विशेष योजनाको खाँचो छ । गोरखापत्र राज्यको सञ्चार माध्यम हो भन्ने कुरा विश्वास दिलाउन गोरखापत्रका पत्रकार र कर्मचारीको भविष्य सुनिश्चित गर्न पनि ठोस कदम चालिनुु जरुरी छ ।

दलले पत्रकारलाई दुरुपयोग गरे
विष्णु निष्ठुरी 
नेपाली पत्रकारिताको प्रवृत्ति सरसर्ती हेर्दा दुई खालको देखिन्छ । एक खालको प्रवृत्ति व्यावसायिक काम गर्ने सङ्ख्या धेरै ठूलो छैन । उनीहरूले पत्रकारिताको सिद्धान्त, आदर्श, मूल्य मान्यतालाई ध्यानमा राखेर काम 
गर्दै आएका छन् । व्यावसायिक पत्रकारलाई उपयुक्त मञ्च (प्लेट फर्म) को अभाव भए जस्तो देखिन्छ । उपयुक्त मञ्च उपलब्ध नहुनुको कारण चाहिँ व्यावसायिक पत्रकार अलि अपहेलित जस्ता देखिन्छन् । उसले आफ्नो क्षमता अनुसार उपयुक्त वातावरण नपाए जस्तो देखिन्छ । 
राजनीतिक चरित्र भएको पत्रकारिता नेपालमा हावी छ, जसमा पत्रकारको सङ्ख्या ठूलो रहेको छ, त्यो समूहलाई दलीय राजनीतिको आग्रह र चरित्रले छोपेको छ । दलीय आग्रहले छोपिएको प्रतिभाको सही सदुपयोग हुन सकेको छैन ।
यसले खालि राजनीतिक स्वार्थको पत्रकारितालाई सहयोग पुगेको छ, नेपाली पत्रकारिताको विकासमा सहयोग पुगे जस्तो लाग्दैन । राजनीतिक दलले युवा पत्रकारलाई स्वतन्त्र रूपमा काम गर्न प्रेरित गर्नुको साटो भ्रातृ सङ्गठन जस्तै सङ्गठित बनाएर राखेका छन् । राजनीतिक दलले व्यावसायिक, सिर्जनशील हुन, जनतालाई सत्यतथ्य समाचार सामग्री दिन प्रेरित गर्नुको साटो आफ्नो पक्षमा लगाउन पत्रकारलाई दुरुपयोग गरेको अवस्था छ । पत्रकारितामा यी दुवै प्रवृत्ति सँगसँगै अगाडि बढेका छन् । यो नकारात्मक प्रवृत्तिले व्यावसायिक पत्रकारितालाई किनारातिर धकेल्ने काम हुँदै आएको छ ।

पत्रकारका आफ्नै पीडा छन्
निर्मला आचार्य 
कोरोना भाइरसका कारण भएको बन्दाबन्दीमा पनि पत्रकारले ठूलो जोखिम मोलेर जनतालाई समाचार सामग्री दिँदै आएका छन् । २०७२ वैशाख १२ को भूकम्पमा पनि पत्रकारले काम गरेका थिए र त्यो भन्दा अहिलेको खतरनाक अवस्था हो । 
यस्तो अवस्थामा पनि जनताकै सेवामा लाग्नु राम्रो कुरा हो । 
म डब्लूडब्लूजेको उपाध्यक्ष छु । त्यसले विश्वका पत्रकारले कसरी काम गर्दै आएका छन् भनेर हेर्दै आएको छ । नेपालमा पनि केही दिनअगाडि चितवनमा एक पत्रकारमाथि दुव्र्यवहार भयो । पत्रकारले बाहिर आएर नै जोखिममा काम गर्नुपर्ने अवस्था छ । पत्रकार जस्तै सुरक्षाकर्मी, नर्स, चिकित्सक पहिलो पङ्क्तिमै रहेर सेवामा लागेका छन् । अनलाइन पत्रकारले त घरमै बसेर काम गरिरहेका छन् तर अरूलाई त कठिन छ । कतिपय मिडिया मालिकले काम पनि नदिने दाम पनि नदिने भनेका छन् भने कतिले काम गर तर दाम पछि दिउँला भन्ने गरेको पाइएको छ । पत्रकारले आफ्नो पीडा मात्रै बाहिर नल्याएका हुन्, उनीहरूका पनि घर परिवार छन्, समस्या छन्, खानुपर्छ ।
पत्रकारले जहिले पनि जो सरकारमा रहन्छ त्यसको विपक्षमा नै रहेर समाचार लेख्ने गरेको पाइन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारलाई खुब गाली गरेको पाइन्छ तर यहाँ त्यसरी गाली गरेको भने पाइँदैन । त्यसले गर्दा हामीले ठीकठीकै रूपमा पत्रकारिता गरेका छौँ कि जस्तो लाग्छ । घरमै बसेर फोनबाट सूचना सङ्कलन गर्ने, कतिपय टेलिभिजनले प्रत्यक्ष पीडितको भनाइ राखेर राहत पनि उपलब्ध गराएका छन् । सञ्चार माध्यम र विपक्षीको दबाबले सरकारले ल्याएका दुईवटा अध्यादेश फिर्ता लिएको छ । समग्रमा भन्दा नेपाली पत्रकार अहिले जोखिममा रहेर जनताको सेवामा जुटिरहेका छन् । सहयोगी भूमिका नै खेलिरहेका छन् । 

पत्रकारिताले गलत कुरा गर्न पाइँदैन 
शिव गाउँले 
नेपाली पत्रकारिता अहिले प्रविधिले किचिएको छ । सूचना प्रविधिलाई पत्रकारिताले पछ्याउनै पर्ने बाध्यात्मक अवस्था छ । सञ्चार अन्तरवस्तु प्रविधि मैत्री भयो भने प्रापक (श्रोता, पाठक र दर्शक) सम्म पुग्ने उपयुक्त अवसर हो । गोरखापत्रको इतिहास भनेको छापा पत्रकारिताको इतिहास हो । सूचना प्रविधिका कारण पत्रकारिता डिजिटलाइज्ड जसरी भइरहेको छ, विगत हेरेर आगामी दिनमा आफ्नो बाटो तय गर्न गोरखापत्रको १२० वर्ष ज्यादै उपयुक्त अवसर हो । अहिलेको पत्रकारितामा तथ्यको मसिनो गरी विश्लेषण नगर्ने, सम्बन्धित विषयका विशेषज्ञको सहभागिता बिना नै विचार प्रस्तुत गरिदिने प्रवृत्ति बढ्दो छ । राजनीतिक समाचारको रिपोर्टिङदेखि कोरोनाका समाचार लेख्दा पनि त्यसै गर्नेगरेका छौँ । तथ्यको मसिनोसँग परीक्षण गर्न र विशेषज्ञको विचार बिना नै समाचार दिन हामी हतारिन्छौँ । पत्रकारिताको सुरुदेखि अहिले सम्मको विकास क्रम हेर्दा नकारात्मक र सकारात्मक भन्ने दृष्टान्त नै पत्रकारितामा गलत हो । पत्रकारिताले गलत कुरा गर्न पाइँदैन, सही छ भने जस्तासुकै नकारात्मक कुरा पनि बाहिर ल्याउनुपर्छ तर गल्ती गर्न पाइँदैन । सही छ भने जति सुकै नकारात्मक कुरा आए पनि राज्य पद्धतिभित्र धेरै नकारात्मक कुरा छन् भन्ने बुझ्न सक्छौँ । तत्काल हेर्दा समाजका नकारात्मक कुरा मिडियाले बाहिर ल्याएको देखिए पनि समाज, शासन प्रणाली र शक्तिमा बस्नेले आफूलाई बदल्ने यो एउटा अवसर हो । मिडियाले नकारात्मक कुरा नै दियो भने पनि आत्तिनुपर्ने अवस्था छैन । मिडियाले उठाएका विषयलाई सकारात्मक रूपमा बदल्ने एउटा मोडका रूपमा त्यसलाई लिन सक्छौँ । पत्रकारिताको कार्य भनेको समाजलाई सुसूचित गर्ने हो र उनीहरूलाई आफ्नो निर्णय आफैँ गर्न सक्ने बनाउनु हो ।

जनताको पक्षमा बोल्ने मिडिया कम 
महेश्वर दाहाल
अहिले संसारकै अधिकांश मिडिया व्यापारीका हातमा छन् । कर्पोरेट पुँजीसँग आकर्षित छन् । हिजोका मिडिया राजनीति परिवर्तनको मिसिनमा लागेका हुन्थे । अहिले व्यापारिक प्रयोजनका लागि प्रयोग हुने गरेका छन् । हिजो सामाजिक रुपान्तरणका निम्ति नेतृत्व गर्दै आएका मिडिया अहिले व्यापारिक स्वार्थमा प्रयोग भएका छन् । हिजो आन्दोलनकै बलमा सरकारमा गएका थिए र तिनैका हातमा राज्यका मिडिया हुन्थे । पहिला राज्यका मिडियाले परिवर्तनका मुद्दा कार्यान्वयन गर्न सहयोग गर्दथे । सामाजिक परिवर्तन गर्न मिडियाले मुख्य नेतृत्व गर्दथे तर पछिल्ला दिनमा मिडियामा पूरै अपारदर्शी पुँजी भित्रिएको छ । कर्पोरेट पुँजी र अपारदर्शी पुँजी जसरी भित्रिएको छ, त्यसले गर्दा सामाजिक परिवर्तनका मुद्दा, सरकारले ल्याएका राम्रा कुरा स्थापित गर्ने विषय बिस्तारै हराउँदै गएका छन् । मिडिया मालिककै स्वार्थपूर्ति गर्नमै बढी हावी भएका छन् । 
सामाजिक रुपान्तरण गर्न जसरी पञ्चायत कालमा मिडियाले भूमिका खेलेका थिए, त्यसपछि पनि परिवर्तनका मुद्दा बोक्ने धेरै मिडिया थिए, ती मध्ये धेरै त बन्द नै भएका छन् । जति चलेका छन्, तिनीहरू पनि घिटिघिटी अवस्थामा छन् । २०४६ सालपछि एकाध वर्ष छाड्ने हो भने गोरखापत्रले सधैँ परिवर्तनकै पक्षमा सहयोग गरेको छ । गोरखापत्रलाई अहिले पनि सरकारले चलाउनुहुन्न भन्छन् तर मलाई लाग्छ, यदि सरकारसँग आफ्नो मिडिया हुँदैन भने सरकार र जनताका आवाज बोलिदिने मिडिया नहुन सक्छन् । अहिले सरकार र जनताको पक्षमा बोलिदिने मिडिया कमै छन् । गोरखापत्रले जनताको पक्षमा र जनताबाट निर्वाचित सरकारकै पक्षमा सहयोगी भूमिका खेल्दै आएको छ । कैयौँ मुलुकमा आणविक अस्त्र बनाएका छन् तर जनताको जीवन रक्षाका लागि उपकरण निर्माण गर्न अमेरिकाले नै सकेको रहेनछ भन्ने कुरा कोरोना भाइरसको महामारीबाट देखिएको छ । शक्तिशाली र साधन स्रोतले सम्पन्न भनिएको अमेरिकाको त यो हालत भयो भने नेपालको अवस्था के होला ? मिडिया जनतालाई आशावादी गराउने, सचेत गराउने, जनमुखी र राष्ट्रमुखी काममा सधैँ लागिरहनुपर्छ । 

-साभार गोरखापत्र