बुढानीलकण्ठ नगरपालिका वडा २ मा ‍रहेको आहाना दुध डेरीमा असुरक्षित तथा खाद्य सुरक्षाको मापदण्ड अनुसार दुधजन्य खाद्यान्नहरुको उत्पादन नभएको पाइएको छ। 

नगरपालिकाको न्यायिक समितिमा मिति २०८० चैत्र महिनामा स्थानीयद्वारा उक्त डेरीले असुरक्षित रुपमा ध्वनी तथा वायु प्रदुषण गरेको भन्ने निवेदन  दर्ता गरेको आधारमा इजलासमा छलफल गरि फिल्ड निरिक्षण समेत गरिएको छ। 

 नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक अनिता लामाको निर्देशनमा आज न्यायिक समितिका सदस्य विकास तामाङ्ग लामा तथा कानूनी सल्लाहकार समेतको टोलीले निरिक्षण कार्य गरेको थियो। जसमा खाद्य ऐन तथा नियम अनुरुपको उत्पादन मापदण्डको पालना नभएको पाइएको छ।  

डेरी सञ्चालन गर्नका लागि तथा उत्पादनमा प्रयोग हुने विभिन्न प्रविधिहरुका कारण आसपासका स्थानीयको घरहरुमा निकै असर भइरहेको समेत निवेदकले जानकारी दिएका छन् मेसिनहरुको प्रयोग भइरहँदा नजिकका घरहरुमा समेत कम्पन (vibrate) हुँदा बस्नका लागि असुरक्षित रहेको उनले बताएका छन्। साथै उत्पादनका लागि आगो बाल्ने र धुँवा र धुलोले गर्दा आसपासको क्षेत्रमा विभिन्न स्वास्थ्य समस्या समेत देखिन थालेकोमा चिन्तित रहेको स्थानीय वासीहरुको गुनासो रहेको छ।  त्यसका साथै आगोको झिल्काहरु बाहिर निस्किँदा आसपासको क्षेत्रमा भौतिक रुपमा समेत क्षति भएको स्थानीयको भनाई रहेको छ। 

उक्त डेरीको उत्पादन पश्चात् फोहोरको समेत उचित व्यवस्थापन नभएको र सो डेरीको कारखानाबाट निस्कने फोहोर खुला रुपमा बाहिर ढलमा मिसाइएको पाइएको छ।  

बजारमा बेचबिखनका लागि लगिने खाद्य वस्तुहरुको उत्पादन गरिँदा अपनाउनुपर्ने साना देखी ठुला मापदण्डहरु कुनै पनि उचित रुपमा प्रयोग नभएको पाइएको छ। उपभोक्ताहरुको स्वास्थ्यलाई जोखिममा राखि कार्य भइरहेको उक्त डेरीलाई कारवाहीको दायरामा लेराइने समेत समितिका सदस्यले जानकारी दिनुभएको छ। 

यस अघि पनि सम्बन्धित वडा कार्यालयबाट अनुगमन निरिक्षण गरिएकोमा खाद्य गुणस्तरको लागि पालना गर्नुपर्ने मापदण्डहरु तोकी निर्देशन दिइएको समेत जानकारी वडा मार्फत प्राप्त भएको छ।