कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको नरभक्षी बाघलाई नियन्त्रणमा लिई आइतबार सदर चिडियाखाना, जावलाखेलमा ल्याइएको छ । 

निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकको सहयोगमा बाघलाई सदर चिडियाखाना, जावलाखेलमा राखिएको हो । वैशाख ८ गते कञ्चनपुर, बेलौरी नगरपालिका–८ पचुई गाउँ क्षेत्रमा पर्ने खप्टी नालामा ४२ वर्षीया गङ्गादेवी चन्दलाई आक्रमण गरेको थियो ।

आक्रमणपछि उहाँको निधन भएको थियो । अन्य महिला भाग्न सफल भई उद्धारका लागि कुण्डा सब-डिभिजन वन कार्यालयमा खबर गरेपश्चात् आक्रमणमा परेकी महिलाको उद्धार र बाघ नियन्त्रण कार्यमा डिभिजन वन कार्यालय कञ्चनपुर, निकुञ्ज कार्यालय (हात्ती सहित), नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, कोषको शुक्लाफाँटा संरक्षण कार्यालयलगायतका निकाय क्रियाशील भई बाघ नियन्त्रणमा लिई चिडियाखानामा ल्याइएको हो ।

बाघ नियन्त्रणमा लिई चिडियाघरमा ल्याइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरद अधिकारीले बाघले धेरै मानिसहरूलाई क्षति गरेकाले नियन्त्रणमा लिएर चिडियाखानामा राखिएको बताउनुभयो । उहाँले अहिले चिडियाखानामा ४ वटा बाघ राख्नसक्ने क्षमता भए पनि ५ वटा बाघ रहेको बताउनुभयो ।

उहाँले आइतबार ल्याइएको बाघसहित ५ वटा बाघमध्ये ४ वटा भाले बाघ र एउटा पोथी बाघ रहेको बताउनुभयो । उहाँले चिडियाखाना एउटा महाराजा नामक बाघ रहेको र उसलाई जोडी बनाउने गरी कञ्चनपुरबाट ल्याइएको बाघ महारानी नाम दिएर राख्ने योजना रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘यो बाघ कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ८ मा सिमसार जस्तो क्षेत्रमा गङ्गादेवी चन्द, ४२ वर्षको उहाँलाई आक्रमण गर्दा मृत्यु भयो । हाम्रो साथीहरूले हिजो बिहान धेरै चाँडो यो बाघ नियन्त्रणमा लिन सक्नुभयो । बाघले नेपालमा धेरै मानिसको क्षति गरेको छ । यस्ता बाघलाई नसमातिए उपाय नै छैन, त्यसैले पनि यो बाघलाई नियन्त्रण लिएर चिडियाखानामा ल्याएका हौँ । यहाँ दुई जोडी बाघ राख्नसक्ने क्षमता छ, अहिले ५ वटा छन्, जसमा ४ भाले र पोथी एक बाघ छ, पोथी बाघलाई यहाँ ल्याउनुको कारण कुनै एक भाले बाघसँग जोडी मिले राख्ने सोच छ । यहाँ एउटा महाराजा भन्ने बाघ छ, त्योसँग जोडी मिलेर मिलाएर राख्ने सोच छ । यी दुई बाघ मिले भने महाराज, महारानी नाम मिलाएर राख्ने सोच छ ।’

उद्धार गरिएको पोथी बाघ अन्दाजी पाँच वर्ष उमेरको रहेको र घटना भएको क्षेत्र नजिकको भारतीय वन क्षेत्रमा विगत एक महिनाको अवधिमा थप दुई जना (एक जना नेपालीसहित) को बाघका कारण ज्यान गएको पाइएको सदस्यसचिव अधिकारीले बताउनुभयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र वरपरको क्षेत्रमा ३६ वटा वयस्क पाटेबाघ रहेको अनुमान गरिएको छ ।