ताँजाकोट गाउँपालिका –१ काँडागाउँको जनप्रकाश माध्यमिक विद्यालयका कक्षा कोठामा भल पसेपछि विद्यार्थीलाई चौरमा राखेर पढ्नुपर्ने बाध्यता भएको  छ। दुई दिनदेखि परेको वर्षाको कारण भल कक्षामा पसेपछि कोठा हिलाम्मे हुँदा विद्यार्थी चौरमा बसेर पढ्न बाध्य भएका हुन्। 

ताँजाकोट गाउँपालिका –१ काँडागाउँको जनप्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक दलपति खड्काले दुई दिनको वर्षाले पानीको भल कक्षा कोठामा पस्दा विद्यार्थीलाई विद्यालयको चौरमा पठनपाठन गर्नु परिरहेको बताउनुभयो। 

भल पसेपछि छ वटा कोठा हिलाम्मे भएका छन्। उहाँले कक्षा तीन र छदेखि १० कक्षा गरेर छ वटा कोठामा हिलोसहित पानीको भल पसेपछि सबै विद्यार्थीलाई चौरमा राखेर पढाउन थालिएको हो। प्रधानाध्यापक खड्काले कक्षा कोठामा पानी भरिएर हिलो भएको र कक्षामा भएका डेस्क बेन्च बाहिर निकालेर पठनपाठन गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो। 

कक्षा कोठाको पछाडिको भाग पहिरोले गएको कारण पानी पर्ने बित्तिकै कक्षामा भल छिर्ने उहाँको भनाइ छ। उहाँले पहिरो नियन्त्रण नभएसम्म यो समस्या बारम्बार भोग्नुपर्ने अवस्था रहेको बताउनुभयो।