तातोपानी नाकाबाट पूर्ववत् अवस्थामा आयत–निर्यात सुचारु गर्न नेपाल र चीन सरकारका अधिकारहरू बीच बैठक सम्पन्न भएको छ। तातोपानी नाकालाई पूर्ववत् अवस्थामा सञ्चालनका लागि पहलकदमी गर्न दुई देशका अधिकारीहरू तातोपानी नाका स्थित फागुन ४ गते मितेरी पुलमा प्रत्यक्ष बैठक सम्पन्न भएको गोरखापत्र अनलाइनले लेखेको छ। 
सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउनु भए अनुसार चीन सरकारका तर्फबाट न्यालम अध्यागमन इन्स्पेक्सन स्टेसनका प्रमुख सियाङ जुन, बोर्डर कन्ट्रोल प्रमुख सु गाङ, खासा अनुसन्धान प्रमुख गे साङ, सहायक प्रमुख युन डान, न्यालम र खासा प्रहरी स्टेसनका प्रमुखद्धय डान डुओ र जियान क्यान, न्यालम कानुन तथा अनुसन्धान प्रमुख जिया सी झुनझुल लगायत सहभागी रहनु भएको थियो। नेपालका तर्फबाट सिन्धुपाल्चोकका प्रजिअ न्यौपाने, सीमा सुरक्षा सशस्त्र प्रहरीका एसपी रवि केसी, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बाल नरसिंह राणा, अध्यागमन कार्यालयका प्रतिनिधि लगायतका अधिकारीहरू बैठकमा सहभागी थिए।
नेपाल र चीनको सीमा मितेरी पुलमा भएको बैठकमा चिनियाँ अधिकारीहरूले पूर्ववत् अवस्थामा नाका सञ्चालन हुनु पूर्व नाका क्षेत्रमा ‘क्रस बोर्डर क्राइम’ बारे पर्याप्त छलफल हुनुपर्नेमा जोड दिएको प्रजिअ न्यौपानेले जानकारी दिनु भयो। सिन्धुपाल्चोकका अधिकारीहरूले पनि उक्त विषयमा जोड दिएको उहाँले बताउनु भयो। बैठकमा चिनियाँ अधिकारीहरूले नाकालाई पूर्ववत् अवस्थाका जस्तै सञ्चालनका लागि के गर्न सकिन्छ भनेर सुझाव मागेका थिए। निकासी बस्तुको चेकजाँच गर्न खासाका रमिते बजारमा निकासी घर निर्माणाधीन रहेको पनि चिनियाँ अधिकारीले बताएका सिडिओ न्यौपानेले बताउनु भयो। नाका पूर्ववत् रूपमा कहिलेबाट खुल्छ भन्ने मिति तोकिएको छैन। 
२०७२ वैशाख १२ गतेपछि तातोपानी नाका पूर्ण रूपमा बन्द थियो। २०७६ जेठ १५ गते चीनले एकतर्फी रूपमा आंशिक नाका सुचारु गरेको थियो। सोही वर्षको चैत ११ गते कोरोना महामारीका कारण लकडाउनका कारण नाका पूर्ण रूपमा बन्द भएको थियो। २०७७ सालमा चीन र नेपालका उच्च अधिकारीहरूले मितेरी पुलमा पाँच मिटर दुरीमा रहेर भौतिक बैठक गरेका थिए। त्यसपछि वि च्याटमार्फत भर्चुअल बैठक हुँदै आइरहेको थियो। हाल तातोपानी नाका आंशिक रूपमा सञ्चालनमा रहेको छ।