राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले बिहीबार राष्ट्रिय टोलीको बन्द प्रशिक्षण क्याम्पमा सहभागिताका लागि प्रशिक्षक र फिटनेस टोलीसँग सम्पर्क गर्नुभएको छ ।

सन्दीपले खेल्न सक्ने वा नसक्ने निर्णय फिटनेस  र उनको अवस्था बारे छनोट समितिले निर्धारण गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) का व्यवस्थापक विनोद दासले बताउनुभयो ।

‘‘सन्दीपले आज (बिहीबार) प्रशिक्षक र फिटनेस टोलीलाई भेट गरेका छन् । सन्दीपको फिटनेस र टोलीको आवश्यकता हेरेर टोलीमा रहने वा नरहने निर्णय हुन्छ । यस विषयमा छनोट समिति र प्रशिक्षकले छिट्टै क्यानलाई जानकारी दिनेछन्,’’ दासले भन्नुभयो ।

प्रशिक्षकले सन्दीपको स्थान र उनले खेल्न सक्ने अवस्था रहेमा टोलीमा समावेश गर्न सक्ने पनि दासले बताउनुभयो । बालिका बलात्कार आरोपको मुद्दामा धरौटीमा रिहा हुनुभएका सन्दीपलाई क्यानको पोखरामा सम्पन्न बोर्ड बैठकले बुधबार मात्र उहाँ माथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।

सन्दीपविरुद्ध परेको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले अझै टुङ्गो लगाइसकेको छैन ।