प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्ने बताउनुभयो । आज (बिहीबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

सिंहदरबारमा सम्पन्न भेटमा आसन्न राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा उम्मेदवार चयनमा दलबीच भइरहेको छलफलका विषयमा कुराकानी भएको जनाइएको छ ।

छलफलपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले दलबीचको छलफल जारी रहेको र यही फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिले छलफल भइरहेको छ । फाइनल भएको छैन ।” भेटवार्तामा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको पनि सहभागिता थियो ।