सरकारले सार्वजनिक बिदामा अत्यावश्यकीय सेवा प्रवाह सूचारु गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कर्मचारीलाई सट्टा बिदा दिने र कुन–कुन कार्यालयमा सेवा सुचारु गर्ने भन्ने सम्बन्धमा मन्त्रिपरिषद्को प्रशासनिक समितिले सूचिकृत गर्ने निर्णय गरेको जानकारी दिनुभएको हो । 

यसैगरी, सञ्चारमन्त्री शर्माले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) ऐन २०७९ सम्बन्धी विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति निर्णय पनि बैठकले गरेको बताउनुभयो । 

यसैगरी, नेपालको संविधानको धारा ५३ एवम् सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४१ बमाेजिम तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी सम्माननीय राष्टपतिसमक्ष पेश गर्ने र विकास आयोजनाको सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धमा विधेयक तर्जुुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय बैठकले गरेको छ ।

त्यस्तै, चालु आर्थिक वर्ष २०७९/०८० को लागि गहुँचको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३३५१ निर्धारण गर्ने, २०७९/११/१७ गते दक्षिण सुडानमा हुने फम्र्ड पुलिस यूनिटको मेडल परेड कार्यक्रम सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई सहभागी हुन स्वीकृति दिने, २०७९ फागुन २९ देखि चैत ३ गतेसम्म बेलायतमा हुने स्कुल लिडरसीप स्टडी भिजिटमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव (शिक्षा) श्री रामकृष्ण सुवेदीलाई भाग लिन स्वीकृति दिने र सङ्घीय संसद सचिवालयमा दर्ता भइ हाल राष्ट्रिय सभामा विचाराधीन रहेको प्रतिलिपी अधिकार (पहिलो संशोधन) विधेयक २०७६ फिर्ता लिन स्वीकृति बैठकले गरेको छ । 

त्यस्तै, बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयको संगठन संरचना र दरवन्दी तेरिज स्वीकृत प्रदान गर्ने र नेपाल दूर सञ्चार प्राधिकरणमा कानुन सदस्यको पदमा सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।