काठमाडौं, माघ १२ गते। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुर गरेर तीन जिल्लामा गरी ६ हजार बढीमा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा चार हजार ८७५, ललितपुर जिल्लामा ७८२ र भक्तपुरमा ५१५ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा पाँच हजार ५७१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन्। १३ हजार ५४९ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ५७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, छ हजार ८१० जनामा एन्टीजेन परीक्षण गरिएकोमा दुई हजार ८८३ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा चार हजार ४३३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.२ प्रतिशत रहेको जनाएको छ।

सोही अवधिमा पाँच जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६७४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यसैगरी, मुलुकमा हालसम्म ९० हजार ६७ जना सक्रिय सङ्क्रमित छन्। साथै पछिल्लो २४ घण्टामा दुई लाख ५६ हजार ४१६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।