अमेरिकामा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु त्रिकोणात्मक शृंखलाको अन्तिम खेलमा नेपालले आज अमेरिकासँग खेल्दैछ ।

अघिल्लो खेलमा मंगलबार राति ओमानलाई ७ विकेटले पराजित गरेर मनोबल उच्च बनाएको नेपाल घरेलु टोलीलाई हराएर शृंखलामा सुखद अन्त्य गर्ने योजनामा छ ।

शृंखलामा नेपाल र अमेरिकाको अघिल्लो खेल नाटकीय रुपमा बराबरीमा सकिँदा दुवै टोलीले एक/एक अंक लिएका थिए ।

आजको खेलमा भने नेपाल र अमेरिका दुवै जितसहित शृंखला सकाउन चाहन्छ । शृंखलामा नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो । त्यसपछि अमेरिकासँग बराबरी खेलेको नेपालले पछिल्लो खेलमा ओमानमाथि ७ विकेटको जित निकालेको थियो ।

उता अमेरिकाले पहिलो खेलमा ओमानलाई ११४ रनले हराएर शानदार सुरुआत गरेपछि त्यसपछिको खेलमा भने नतिजा ल्याउन सकेको छैन । दोस्रो खेलमा नेपालसँग बराबरी खेल्दा ओमानसँग अर्को खेलमा १३ रनले पराजित भएको थियो ।

लिग टु मा सबै ३६ खेल खेलिसकेको ओमान ४४ अंकसहित शीर्ष स्थानमा छ र कम्तीमा लिग सकिंदा शीर्ष तीनमा रहेर ग्लोबल क्वालिफायरमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

अमेरिका २३ खेलबाट २१ अंकसहित नेपालभन्दा अघि अर्थात चौथो स्थानमा छ । १५ खेलबाट उति नै अंक जोडेर नेपाल पाँचौ स्थानमा छ ।

चौथो शृंखला खेलिरहेको नेपालले अझै पाँच शृंखला खेल्न बाँकी छ र अर्को महिला स्कटल्याण्ड र नामिबियासँग शृंखला खेल्ने स्कटल्याण्ड जाने तालिका छ ।

त्यसअघि नेपालको लागि अमेरिकासँगको अन्तिम खेलमा आफूलाई अझै सुधार गर्ने अवसर पनि छ ।

लिग टु मा नेपालले अमेरिकासाग अहिलेसम्म ५ खेल खेल्दा नेपाल हावी भएको छ । नेपालले सुरको तीन खेल जितेको थियो । त्यसपछि अमेरिकाले नेपाललाई एक खेलमा हरायो । पछिल्लो खेल भने बराबरीमा सकिएको थियो ।