काठमाडौं महानगरपालिकाले काठमाडौं भित्रका ५ वटा ए डिभिजन फुटबल क्लव हरेकलाई १० लाख रुपैयाँ अनुदान सहयोग गरेको छ । आज महानगरका मेयर विद्यासुन्दर शाक्यले क्लबका अध्यक्षहरुलाई अनुदान रकमको चेक हस्तान्तरण गर्नुभएको हो । चेक हस्तान्तरणसँगै मेयर शाक्यले विजेता फुटबल क्लब हरेकलाई ५ लाख रुपैयाँ प्रोत्साहन दिने घोषणा गर्नुभयो । सहयोग रकम हस्तान्तरणपछि बोल्दै मेयर शाक्यले, खेल अवधिमा प्रतिस्पर्धा त्यसपछिको सौहाद्रता राजनीतिक क्षेत्रले सिक्नु पर्ने पाठ भएको बताउनुभयो । ‘खेलकुदले सामाजिक र आर्थिक विकास गर्छ । रोजगारी सिर्जना गर्छ । त्यति मात्र होइन यसले विश्वभर देशको गौरब बड्ने बताउनु भयो । कार्यक्रममा बोल्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले माहानगरपालिकाको सहयोगले क्लबहरुलाई आर्थिक भार कम हुने मात्र होइन क्लबहरुलाई थप हौसला समेत मिलेको बताउनु भयो । काठमाडौ माहानगरपालिकाले काठमाडौ माहानगरका बि र सि डिभिजनका क्लबहरुलाई समेत अनुदान प्रदान गर्ने उप प्रमुख हरीप्रभा खड्गीले बताउनु भयो ।