रौतहट गढीमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादवसहित चार जनाविरुद्ध दुई करोड ५७ लाख ६२ हजार रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यादवसहित गढीमाई नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शुभाष कुमार ठाकुर, तत्कालीन राजस्व शाखाका प्रमुख बालकिशोर राय र भाग्यमणी कनस्ट्रक्सन कम्पनी प्रा.लि. बत्तीसपुतली, काठमाडौँ तथा उक्त कम्पनीका मुख्य भइ कार्य गर्ने राधेश्याम साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

आयोगका अनुसार उनीहरुविरुद्ध आर्थिक वर्ष २०७६/७७ का लागि समनपुर नाकाको बालुवा, गिट्टी, ग्राभेल उत्खनन्, सङ्कलन, बिक्री तथा निकासी कार्यको आय ठेक्काको राजस्व रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोप लागेको छ । 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क) बमोजिमको भ्रष्टाचारजन्य कसुरमा बिगो रकम दुई करोड ५७ लाख ६२ हजार रुपियाँ कायम गरी कैद र बिगो रकमको दोब्बर जरिवाना सजाय हुन मागदाबी लिइ मङ्गलबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।