काठमाडौं। बुढानीलकण्ठ नगरपालिका वडा नं. ११ को आयोजना तथा आदरशिला युवा क्लबको सहकार्यमा सञ्चालित ‘चौथो वडा अध्यक्ष कप २०८३’ भव्य रूपमा सम्पन्न भएको छ। स्थानीय खेल प्रतिभाको पहिचान, खेल संस्कृतिको विकास तथा युवाहरूलाई खेलकुदतर्फ प्रोत्साहित गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले वडाभित्रका विद्यार्थी तथा खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ।
प्रतियोगिताको पहिलो दिन वडा नं. ११ का वडा अध्यक्ष राजु अधिकारी को प्रमुख आतिथ्यमा औपचारिक उद्घाटन गरिएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष अधिकारीले वडाको समग्र विकाससँगै खेलकुद क्षेत्रलाई पनि प्राथमिकतामा राखिएको उल्लेख गर्दै आगामी दिनमा खेलकुद गतिविधिलाई अझ प्रभावकारी र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले सहभागी खेलाडीहरूलाई सफलताको शुभकामना समेत दिएका थिए।
दोस्रो दिन विभिन्न खेल विधाका प्रतिस्पर्धाहरू उत्साहजनक रूपमा सम्पन्न भएका थिए। बास्केटबलतर्फ दीक्षालय नेपाल फाउन्डेसन प्रथम, साम्तेन मेमोरियल एजुकेसनल एकेडेमी दोस्रो तथा माउन्ट कैलाश बोर्डिङ सेकेन्डरी स्कुल तेस्रो स्थान हासिल गर्न सफल भएका थिए। त्यसैगरी चेस र फुटसलका प्रारम्भिक तथा सेमिफाइनल चरणका खेलहरूले प्रतियोगिताको आकर्षण थप बढाएका थिए।
प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन आइतबार एक विशेष समारोहबीच सम्पूर्ण फाइनल खेलहरू सम्पन्न गरी कार्यक्रमको समापन गरिएको थियो। समापन समारोह बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारी को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नगर प्रवक्ता नवराज भट्टराई, वडा अध्यक्ष राजु अधिकारी, आदरशिला युवा क्लबका अध्यक्ष सुजन लामा, स्थानीय जनप्रतिनिधि, खेलप्रेमी तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा विजेता तथा उपविजेता खेलाडी र विद्यालयहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रतियोगिताको मुख्य आकर्षण बनेको फुटसल विधातर्फ दीक्षालय नेपाल फाउन्डेसन ले उपाधि जित्दै प्रथम स्थान हासिल गरेको छ। फाइनलमा उत्कृष्ट प्रदर्शन गरेको साम्तेन मेमोरियल एजुकेसनल एकेडेमी दोस्रो तथा ज्ञान प्रकाश स्कुल तेस्रो स्थानमा रह्यो। फुटसलतर्फ ज्ञान प्रकाश स्कुलका आशिष खड्का प्रतियोगिताका ‘हाइएस्ट स्कोरर’ घोषित भए भने दीक्षालय नेपाल फाउन्डेसनका आयुष बुढाथोकी ‘बेस्ट किपर’ बन्न सफल भए।
त्यसैगरी ब्याडमिन्टनको ब्वाइज सिंगल्सतर्फ दीक्षालय नेपाल फाउन्डेसनका समन अधिकारी प्रथम भए। गर्ल्स ब्याडमिन्टनतर्फ श्री ग्राम शिक्षा मन्दिर सेकेन्डरी स्कुल की रुक्शा लिम्बु प्रथम स्थान हासिल गर्न सफल भइन्।
बुद्धिचाल (चेस) प्रतियोगितामा न्यु मिलेनियम एकेडेमी ले उत्कृष्ट प्रदर्शन गर्दै ब्वाइज र गर्ल्स दुवै विधामा उपाधि जित्यो। ब्वाइज चेसतर्फ गौरांश थाइबा तथा गर्ल्स चेसतर्फ गौरविका थाइबा प्रथम स्थान हासिल गर्न सफल भए।
समापन समारोहमा बोल्दै वडा तथा नगर नेतृत्वले खेलकुदले युवाहरूमा अनुशासन, नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उल्लेख गर्दै यस्ता प्रतियोगिताले वडा र नगरको प्रतिष्ठा बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। उनीहरूले आगामी वर्षहरूमा प्रतियोगितालाई अझ व्यापक र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

प्रतिकृयाहरु