बूढानीलकण्ठ नगरपालिका वडा नम्बर–३ द्वारा आयोजित 'बूढानीलकण्ठ/शिवपुरी खुला ट्रेल रेस'को उपाधि मिलन राई र सुनसरी रोकायाले हात पारेका छन्। शनिबार सम्पन्न १५ किलोमिटर दूरीको दौडमा मिलन पुरुषतर्फ र सुनसरी महिलातर्फ प्रथम हुनुभएको हो।

आन्तरिक पर्यटन प्रवर्धन गर्ने पवित्र उद्देश्यका साथ आयोजित यस प्रतियोगितामा पुरुषतर्फ मिलन राईले निर्धारित दूरी १ घण्टा ३५ मिनेट ४६ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक र नगद पुरस्कार जिते। कडा प्रतिस्पर्धाका बीच प्रताप थाम्सुहाङ दोस्रो र करण रावल तेस्रो स्थान हासिल गर्न सफल भए। चौथो र पाँचौँ स्थानमा क्रमशः लोकेन्द्र राई र विशाल राई रहे।

महिलातर्फ सुनसरी रोकायाले १ घण्टा ५८ मिनेट ४ सेकेन्ड समय खर्चिँदै उपाधि आफ्नो नाममा लेखाइन्। राज्यलक्ष्मी रावल दोस्रो, गीता नेपाली तेस्रो, आश्मा विक चौथो र मन्जु सुनुवार पाँचौँ स्थानमा विजयी भए।

पुरस्कार र सहभागिता:

विजेता खेलाडीहरूलाई भव्य समारोहका बीच पुरस्कार वितरण गरियो। महिला र पुरुष दुवैतर्फ शीर्ष तीन स्थान हात पार्नेलाई क्रमशः ४० हजार, २५ हजार र १५ हजार रुपियाँ नगद पुरस्कार प्रदान गरियो। यस्तै, चौथो र पाँचौँ स्थानमा रहने धावकहरूलाई पनि जनही पाँच हजार रुपियाँ  वडाध्यक्ष आकाश धितालले प्रदान गर्नु भएको थियो ।

 

प्रतियोगितामा देशका विभिन्न भागबाट आएका जम्मा दुई सय ४० जना धावकहरूको उत्साहजनक सहभागिता रहेको थियो। बूढानीलकण्ठ क्षेत्रको प्राकृतिक सौन्दर्य र ट्रेल रनिंगप्रति बढ्दो आकर्षणलाई यस कार्यक्रमले थप बल पुर्‍याएको आयोजक वडा–३ ले जनाएको छ।