काठमाडौँ — चार दिनसम्म परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो, लेदो खस्ने तथा सडक भासिने समस्याले देशभरका प्रमुख राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। वर्षा रोकिएसँगै सडक विभाग र नेपाल प्रहरीले अवरुद्ध सडक खुलाउने तथा यातायात सञ्चालन सहज बनाउने काम तीव्र पारेका छन्।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार असोज ८ गतेदेखि ११ गतेसम्म परेको लगातार वर्षाका कारण विभिन्न राष्ट्रिय राजमार्ग तथा प्रमुख सडकमा बाढी, पहिरो, कटान र सडक भासिने समस्या देखिएको हो। सोमबारदेखि वर्षा रोकिएपछि अधिकांश अवरुद्ध सडक सञ्चालनमा आइसकेका छन् भने बाँकी सडकमा पनि अवरोध हटाउने काम भइरहेको छ।
प्रवक्ता न्यौपानेले अवरुद्ध सडकहरू छिट्टै सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताउनुभयो। उहाँका अनुसार पृथ्वी राजमार्गको धादिङस्थित च्याल्से खण्डमा पहिरोसँगै ठूला ढुङ्गा खसेर सडक अवरुद्ध भएको छ। उक्त क्षेत्रमा पहिरो तथा ढुङ्गा हटाउने काम भइरहेको छ।
त्यसैगरी नारायणगढ–मुग्लिन सडकखण्डको धारापानी र फिस्लिङनजिक सडक एकतर्फी रूपमा सञ्चालनमा छ। सिमलतालनजिक सडकको करिब आधा भाग भासिएकाले त्यहाँ पनि एकतर्फी यातायात सञ्चालन भइरहेको विभागले जनाएको छ।
बीपी राजमार्गमा विभिन्न स्थान प्रभावित
बीपी राजमार्गअन्तर्गत माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी र चौकीडाँडा लगायतका स्थानमा पहिरो तथा डाइभर्सन बगेका कारण सडक अवरुद्ध छ। थप क्षति नभएमा मंगलबार साँझसम्म सडक सञ्चालनमा ल्याउने सम्भावना रहेको प्रवक्ता न्यौपानेले बताउनुभएको छ।
कान्ति राजमार्गका चार स्थानमा पहिरो गएकोमा दुई स्थानको पहिरो हटाइसकिएको छ भने बाँकी दुई स्थानमा अवरोध हटाउने काम जारी छ। विभागले उक्त राजमार्ग पनि छिट्टै सञ्चालनमा आउने अपेक्षा गरेको छ।
हुलाकी र मध्यपहाडी राजमार्गमा पनि क्षति
हुलाकी राजमार्गको चितवनस्थित ठोरी–माडी खण्डमा घाँघर खोलाको पहुँच मार्ग र विङ वालमा बाढीले क्षति पुर्याएको छ। हाल उक्त खण्डमा हल्का सवारीसाधन मात्र एकतर्फी रूपमा सञ्चालन भइरहेका छन्।
मध्यपहाडी राजमार्गअन्तर्गत लमजुङको मध्यनेपाल–८ तथा बुर्तीबाङ–पातीहाल्ने खण्ड पहिरो र सडक कटानका कारण अवरुद्ध छन्। घोडाबाँध–हटिया र हटिया–बुर्तीबाङ खण्ड भने एकतर्फी रूपमा सञ्चालनमा रहेको विभागले जनाएको छ।
त्रिभुवन राजपथ वैकल्पिक मार्गका रूपमा प्रयोग
काठमाडौँलाई तराईसँग जोड्ने अन्य प्रमुख सडकमा अवरोध देखिएपछि त्रिभुवन राजपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको छ। स्थानीय प्रशासनले निर्धारण गरेको समयतालिका र सवारीसाधनको आकारअनुसार उक्त मार्ग सञ्चालन गरिएको हो। हाल ११ मिटरसम्म लम्बाइ भएका सवारीसाधनलाई तोकिएको व्यवस्थाअनुसार सञ्चालन गर्न दिइएको छ।
यसैबीच पूर्व–पश्चिम राजमार्गको तराई खण्डमा अधिकांश स्थानमा यातायात सञ्चालनमा आएको छ। दाउन्ने क्षेत्रमा केही स्थान पहिरोका कारण एकतर्फी रहे पनि सतर्कतासाथ यातायात सञ्चालन भइरहेको छ। कोशी ब्यारेज आसपासका क्षेत्रमा पनि सावधानी अपनाएर यातायात सञ्चालन गरिएको जनाइएको छ।
उपत्यकामा यातायात सञ्चालन, नदीकिनारमा जोखिम कायमै
काठमाडौँ उपत्यकाभित्र चक्रपथ तथा भित्री सडकहरूमा नदी तथा खोलाको बहाव केही घटेसँगै यातायात सञ्चालनमा आएको छ। तर नदी, खोला तथा नदीकिनारका कोरिडोर सडकहरूमा अझै जोखिम कायमै रहेको सम्बन्धित निकायले जनाएको छ।
सडक विभागले सडक खुलाउने काम तीव्र बनाए पनि निरन्तर पहिरो खस्ने तथा सडक कटान हुने सम्भावना रहेकाले यात्रु तथा चालकलाई सावधानी अपनाउन आग्रह गरेको छ।
सडक विभाग र नेपाल प्रहरीले मौसम पूर्ण रूपमा सफा नभएसम्म तथा पहिरो खस्ने क्रम नरोकिएसम्म अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेका छन्। यात्राका क्रममा सम्बन्धित निकायबाट जारी हुने सडक तथा मौसमसम्बन्धी सूचनालाई प्राथमिकता दिन पनि आग्रह गरिएको छ।

प्रतिकृयाहरु