नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षको बैठक आज शुक्रबार पनि बालुवाटारमा शुरु भएको छ । मन्त्रिपरिषद पुनर्गठनदेखि पार्टीको साँगठनिक बाँकी एकता प्रक्रियाका विषयमा केन्द्रित भएर छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।
गत मंगलबार ६ गते बसेको सचिवालय बैठकले दुई अध्यक्षलाई मन्त्रिपरिषद पुनर्गठनको खाका बनाउने जिम्मा र पार्टीको सांगठनिक एकताका बाँकी काम पूरा गर्ने आधारसहितको खाका बनाउने जिम्मेवारी दिएपछि दुई अध्यक्ष केपी शर्मा अ‍ोली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ सक्रिय हुनुभएको हो । उहाँहरुबीच विहिबार पनि करिब तीन घण्टा छलफल भएको थियो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान साढे ११ बजेदेखि शुरु भएको बैठकले आजभोलिमै मन्त्रिपरिषद पुनर्गठनको ठोस योजना बनाएर सचिवालय बैठकबाट अनुमोदन गराउने तयारी अध्यक्षद्वयले गर्नुभएको बताइएको छ । प्रधानमन्त्री तथा अध्यक्ष ओलीका सञ्चार विज्ञ रामशरण बजगाईका अनुसार दुई अध्यक्षबीच विभिन्न कार्यसूचीमा छलफल भइरहेको छ । 
दुई अध्यक्षसहित महासचिव विष्णुप्रसाद पौडेललाई १० दिनभित्र साँगठनिक एकताको बाँकी कामको खाका बनाउने जिम्मेवारी सचिवालय बैठकले दिएको छ । जिम्मेवारी पाएको आज चार दिन भएकाले अध्यक्षद्वय त्यस विषयमा केन्द्रित भएर छलफल गरिरहनुभएको पार्टीका नेताहरुको बुझाई छ । 
मन्त्रिपरिषद पुनर्गठनको कार्यसूची सचिवालय बैठकको पहिलो नम्बरमा परेपछि दुई अध्यक्षले त्यसको टुङ्गो लगाउने गरी छलफल गरिरहनुभएको छ । अहिले अर्थ, सञ्चार तथा शहरी विकास मन्त्रालय खाली छ । मन्त्रिपरिषद पुनर्गठन गर्दा सबै नयाँ अनुहारका मन्त्री ल्याउने कि कार्यप्रगतिको आधारमा पुरानो अनुहारलाई कायमै राख्ने विषयमा दुई अध्यक्षबीच सहमतिको प्रयास भइरहेको छ । प्रधानमन्त्रीले कार्यप्रगतिको आधारमा पुरानोलाई कायमै राखेर बाँकी ठाउँमा नयाँ अनुहार ल्याउने अभ्यासमा रहनुभए पनि अर्का अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरुले दुई वर्ष मन्त्री भइसकेका सबैलाई विदा दिएर नयाँलाई जिम्मेवारी दिनुपर्ने सुझाव सचिवालय बैठकमा दिनुभएको थियो ।