प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 

शुक्रबार अपराह्न प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता भएको हाे । भेटमा सत्ता साझेदार दलबीचको गठबन्धन कायमै राखेर अघि बढ्ने दुई नेताबीच सहमति भएको छ । 

भक्तपुरको बालकोटमा रहेको अध्यक्ष ओली निवासको छलफलपछि बाहिरिनेक्रममा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता साझेदार दलको गठबन्धन कायमै राखेर अघि बढ्ने विषयमा केन्द्रीत भएर छलफल भएको जानकारी सञ्चारकर्मीलाई दिनुभयो । उहाँले अवको दुई दिनभित्र राष्ट्रपतिबारे टुङ्गो लाग्ने र सत्ता गठबन्धनबीचको सहमतिअनुसार नै टुङ्गिने बताउनुभयो । 

राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै सत्ता साझेदारदल बीचको सहमति भत्किने र नयाँ गठबन्धन बन्ने आँकलन भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले अहिलेको गठबन्धन नभत्किने बताउनुभयो । यसै गठबन्धनमा सहमति गरेर अघि बढ्ने प्रष्ट पार्नुभयो । नेपाली कांग्रेसले वर्तमान सत्ता गठबन्धन भत्किने र १० गतेभित्र नयाँ गठबन्धन बन्ने बताइरहेका बेला दुई दलका अध्यक्षबीचको सघन छलफल र संवादले सत्ता साझेदार दलबीचको विश्वास कायमै रहेको र आगामी दिनमा पनि सहमतिमै अघि बढ्ने सन्देश दिएको एमाले नेताहरुको विश्वास छ ।