काठमाडौं- आज सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा हालसम्मको प्रारम्भिक विवरणअनुसार पूर्वानुमानभन्दा कम करिब ६१ प्रतिशत मतदान भएको छ । मतदानबारे निर्वाचन आयोगको सूचना प्रणालीमा विवरण प्रविष्ट हुने क्रम जारी छ ।मतदानलाई सहज र शान्तिपूर्णरूपमा सञ्चालन गराउने प्रयासका बाबजुद सुर्खेत, नवलपरासीपूर्व, गुल्मी र बाजुरा जिल्लाका गरी १५ मतदानस्थलमा मतदान स्थगन भएको निर्वाचन आयोगले जनाएको छ । मतदानका क्रममा बाजुरा जिल्लामा दोहोरो झडप हुँदा एकजना सर्वसाधारण नागरिकको मृत्यु तथा अन्य केही स्थानमा केही नागरिक घाइते भएका छन् ।आयोगले सबै मतदान अधिकृतहरूलाई आज मध्याह्न निर्देशन दिँदै मतदान केन्द्रमा भएको सामान्य विवादका कारण केही समय स्थगन भएको मतदान कार्य सञ्चालन गर्न र साँझ ५ बजेसम्म स्थगन भएको सूचना टाँस नगर्न तथा आयोगको पूर्वसहमति लिएर मात्रै स्थगन भएको सूचना टाँस गर्न निर्देशन दिएको थियो । स्थगन वा रद्द भएका मतदान केन्द्रमा आवश्यक तयारी गरी दुई दिनभित्र पुनः मतदान गराउने निर्णय गर्न उपयुक्त प्रबन्ध मिलाइने आयोगले जनाएको छ ।आयोगले केही सामान्य घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान सम्पन्न भएको र निर्वाचन सम्पन्न गराउने ऐतिहासिक कार्यमा भूमिका निर्वाह गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, निर्वाचन अधिकृत, स्थानीय प्रशासन, निर्वाचनमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, मतदाता, पर्यवेक्षक, अन्तर्राष्ट्रिय समुदाय, सञ्चारमाध्यम, निजी क्षेत्रलगायत सबै क्षेत्र र समुदायप्रति आभार व्यक्त गरेको छ ।