प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो उहाँहरुबीचमा राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन र सरकारका विषयमा छलफल भएको जसपा अध्यक्ष यादवले जानकारी दिनुभयो ।

सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “राष्ट्रपति, उपराष्ट्रपति र सरकार सञ्चालन लगायतका विषयमा प्रवेश गर्‍यो, अब निरन्तर जान्छ । बीचमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हुनाले ‘ब्रेक’ भएको छ ।” यसपछि तीन दलको नेताहरूको बैठक बस्ने उहाँले बताउनुभयो । उहाँले यसपछि माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको बैठक बस्ने बताउनुभएको हो ।

जसपाले उपराष्ट्रपति पदमा दाबी गरेकोमा प्रधानमन्त्री प्रचण्ड अत्यन्त सकारात्मक रहनुभएको उहाँको भनाइ छ । “उपराष्ट्रपति, राष्ट्रपति र सरकार लगायतका विषयमा माओवादी अत्यन्त सकारात्मक छ । सरकारको विषयमा सरकारलाई गतिशील बनाउने कुराहरू अन्यत्र पनि जोडिएका छन्, हामी बाहेकको सरकार । अहिले नेकपा एमाले र माओवादीको सहकार्यमा बनेको सरकारहरू त्यस विषयमा पनि छलफल हुनेछ । माओवादी, जसपालाई उपराष्ट्रपति दिने विषयमा  सकारात्मक छ ।”

राष्ट्रपतिमा भने नेकपा (एमाले), नेपाली कांग्रेस र एकीकृत समाजवादी लगायतका दलहरूको दाबी रहेको भन्नुहुँदै उहाँले यस विषयमा छलफल गरेर निष्कर्षमा पुग्ने बताउनुभयो । कांग्रेसलाई पनि समेट्नुपर्ने आवश्यकता अनुरूप सो अनुरूपको सहमति चाहिनेमा प्रधानमन्त्री प्रचण्डको जोड रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रचण्डजी, अहिले कांग्रेसलाई पनि समेट्नुपर्ने भएकाले कांग्रेसको पनि सहमतिमा लिएर जाने उहाँको विचार छ ।”