दमक, असोज १६ गते । 

झापाको कमल गाउँपालिकामा वडा नं. २ सिमल डाँगीका एक युवाले नाटकीय रूपमा आफ्नै आमा र काकाको बीभत्स रूपमा हत्या गरेपछि खुकुरी लिएर प्रहरी सामु आत्मसमर्पण गरेको बताइएको छ । 

शनिवार राती सुरुमा आफूसँगै सुत्नु भएका काका ५० वर्षीय सन्तबहादुर माझी र त्यसपछि अर्को कोठामा सुत्नु भएकी ५० वर्षीया आमा चन्द्रकला माझीलाई खुकुरीले काटेर बीभत्स हत्या गर्ने २० वर्षीय चन्द्रबहादुर माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार लागु औषध प्रयोग गर्ने गरेका हत्या अभियुक्त चन्द्रबहादुरले सुरुमा आफूसँग सुतेका आफ्नै काकालाई निदाइरहेको अवस्थामा घाँटीमा खुकुरीले हानेर हत्या गरेको र त्यसपछि आमा सुतेको कोठामा गएर आमाको पनि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

आमा र आफन्त बहिनी  सुतिरहेको कोठामा पानी खान भनेर ढोका खोल्न लगाएर पानी खाएको र बहिनीलाई एक छिन ढोका नलगाउन भनेर फर्केको केही समयमा गएर निदाइरहेकी आमाको घाँटीमा खुकुरीले हानेर हत्या गरेको प्रहरीको भनाई छ । बत्ती निभाएर सुतेको अवस्थामा गएर घाँटीमा काटेर घटनास्थलमा हत्या गरेको पाइएको छ, प्रहरीको भनाई छ ।

हत्या भएका काका २० वर्षपछि भारतबाट केही दिन अघि मात्र घर आएको पनि बताइएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक दिलीप गिरीका अनुसार आवेगमा एक छिनमा हत्याको योजना बनाएर हत्या गरेजस्तो देखिन्छ । पहिला काकाको र त्यसपछि आमाको एउटै धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अनुसन्धानमा देखिन्छ, उहाँले भन्नुभयो ।

हत्या अभियुक्त छोरा सहित मृतकका श्रीमान् धनबहादुर माझीलाई पनि इलाका प्रहरी कार्यालय दमकले अनुसन्धानका लागि नियन्त्रणमा लिएर राखेको छ । श्रीमान् धनबहादुर अर्कै कोठामा सुतेको बताइन्छ । स्थानीयका अनुसार शङ्का उपशङ्का र घरेलु सामान्य विवादका कारण हत्या भएको हुनसक्छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एवं प्रहरी उपरीक्षक विश्वमणि पोखरेलका अनुसार हत्याको घटनाको विषयमा गम्भीर रूपमा अनुसन्धान सुरु भएको छ । प्रहरी चौकी केर्खाबाट ३ किलोमिटर दुरीमा रहेको घटनास्थलमा प्रहरी पुगेर आइतबार बिहान १ बजे मुचुल्का बनाएर शव उठाइएको थियो ।

-गोरखापत्र