डिजे, बार, धूमपान कक्ष, पेन्ट्री, वाइफाई, डान्स फ्लोर, एयर कन्डिसन, शौचालय आदिको सुविधा रहेको बसमा यात्रा गर्नुभएको छ ? छैन भने अनुभव लिन तयार हुनुहोस् ।

यस्तै खाले अन्तर्क्रियात्मक गतिविधि समेटिएको पार्टीबस पहिलो पटक काठमाडौं भित्रिएको छ । गुड्दै गरेको बसमा पार्टी आयोजना गर्ने भन्दा धेरैलाई अचम्म लाग्न सक्छ तर नेपालमै यस्ता बसको सञ्चालन शुरूवात भएको हाे ।

‘पार्टी अन ह्वील’ अर्थात् गाडीमा पार्टी आयोजना गर्ने सोचसहित नेपालमा त्यस्ता दुई बस सञ्चालनमा आएको बीबीसीले उल्लेख गरेको छ । विभिन्न समारोहका लागि डीजेको सङ्गीत र पेयपदार्थको सुविधासहित पार्टी गर्ने मिल्ने ती बस भारतमा बनेको समाचारमा जनाइएको छ ।

पार्टी बस नेपाल’का सञ्चालक रमेश काफ्लेका अनुसार अहिलेका लागि बसले काठमाडौं उपत्यकाका विभिन्न चार ठाउँमा मानिसहरूलाई चढाउने र ‌ओराल्ने गर्नेछ। त्यसका लागि अग्रिम बुकिङ गर्नुपर्ने हुन्छ।

बसभित्र छिर्दा नै कुनै बार वा क्लबमा पुगेजस्तो देखिन्छ । बसमा बार, म्यूजिक सिस्टम, छुट्टै स्मोकिङ क्याबिन, डान्स फ्लोर, टेलिभिजन, मोबाइल चार्जिङसहित एयर कन्डिसनरसहित वाईफाईको सुविधा राखिएको छ । ४० सिटको बस भए पनि ३० जनासम्म मात्रै बस्ने गरी सोफाहरु राखिएका छन् ।