चिनियाँ मिडिया ग्रुपले नेपालको रे मिडिया ग्रुप र जेजी प्रोडक्सनसँग मिलेर संचलान गरेको चिनियाँ गायन प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा दोर्जे शेर्पा प्रथम भएका छन् भने पेम्बा ग्याल्पो शेर्पा दोस्रो भएका छन्। त्यसैगरी निमा यान्छेन तेस्रो भएकी छन्। 
पहिलो भएका दोर्जे शेर्पाले २ लाख रुपैयाँको नगद पुरस्कारका साथै काठमाडौँ छन्दू दुईतर्फी उडानको निशुल्क टिकट र छन्दूमा निशुल्क तीन रातको बसाइ सुबिधा प्राप्त गरेका छन्। त्यसैगरी दोस्रो भएका पेम्बा ग्याल्पो शेर्पाले १ लाख रुपैयाँ नगद पुरस्कार र काठमाडौँ छन्दू दुईतर्फी निशुल्क टिकट प्राप्त गरेका छन्। तेस्रो भएकी निमा यान्छेनले ५० हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरेकी छन्। 
नेपालीहरुले चिनियाँ गीत गाउने प्रतियोगिताका रुपमा आयोजित चिनियाँ गायन प्रतियोगितामा सुरुमा ३५० जति सहभागी भएका थिए। पहिलो चरणबाट ५० जना छनोट भएका प्रतिभाहरुमध्ये दोस्रो चरणमा ३० जना छनोट भएका थिए। त्यसैगरी तेस्रो चरणमा १० जना र अन्तिम चरणमा ५ जनाबाट तीनजना बिजेता छनोट भएका हुन्।
चिनियाँ गायन प्रतियोगितामा सहभागी प्रतिभाहरुको गायनकलाको मूल्याङ्कन गर्नका लागि चिनियाँ मिडिया ग्रुपकी नेपाली सेवाकी प्रमुख वर्षाजी,नेपाली तारा सन्तोष लामा र चिनियाँ गायिका मिस बोबो सम्मिलित निर्णायक मण्डल बनेको थियो।
डिसेम्बर १६ तारिख सोमबार काठमाडौँको मेरिएट होटलमा सम्पन्न चिनियाँ गायन प्रतियोगिताको फिनाले कार्यक्रम तथा पुरस्कार वितरण समारोहमा पूर्व वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन,नेपालका लागि चिनियाँ राजदूत हौ यान्छी, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी लगायत साढे तीन सय व्यक्ति उपस्थित हुनुहुन्थ्यो।