नेपाल सरकारले १० फिल्म निर्माणमा लगानी गर्ने भएको छ। मौलिक तथा कलात्मक फिल्म निर्माणमा प्रोत्साहित गर्ने उद्देश्यले सरकारले फिल्ममा सहनिर्माताको रुपमा लगानी गर्ने भएको  छ।

चलचित्र विकास बोर्डले मंगलबार एक सार्वजनिक सूचना प्रकाशन गर्दै यसको जानकारी दिएको हो। सूचनामा बोर्डले यो आर्थिक वर्ष २०७८/०७९ देखि दश फिल्ममा सह–लगानी गर्ने भनिएको छ। जसमा पाँच फिचर र पाँच छोटो फिल्म रहनेछ।

मौलिक तथा कलात्मक फिल्म निर्माणमा प्रोत्साहित गर्ने उदेश्यले चलचित्र विकास बोर्डले गत वर्ष स्टोरी बैंक समेत स्थापना गरेको थियो।

यसअघि तीन फिचर र तीन छोटो फिल्ममा सह–लगानी गर्ने कार्यविधि संशोधन गर्दै बोर्डले साउनदेखि लागू हुने गरी फिल्मको संख्या बढाएको हो।

कस्तो फिल्ममा र कति लगानी गर्ने भन्ने बिषयमा भने बोर्डले केही जानकारी दिएको छैन। अघिल्लो आर्थिक वर्षमा स्टोरी बैंकमार्फत तीन छोटो र तीन फिचर फिल्म छनौट भएका थिए। यी तीन फिल्मलाई निर्माणमा बोर्डले सहयोग गर्ने भएको छ। स्टोरी बैंकमा प्राप्त फिल्मबाट छनौट समितिले ६ फिल्म सिफरिस गरेको थियो।