औषधि उद्योगका क्षेत्रमा उदीयमान व्यवसायी शैलेश वैद्यको सपना ‘क्यान्सर रोगविरुद्ध स्वदेशमै औषधि उत्पादन।’भन्ने थियो। जुन सपनाले अब मूर्त रूप लिने भएको छ। टिजिङ फर्मा प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक वैद्य २ महिनाभित्र स्वदेशमै क्यान्सरविरुद्धको औषधि उत्पादन गर्ने तयारीमा रहेको अन्नपूर्णले लेखेको छ। ‘कम्तीमा चारवटा क्यान्सरविरुद्ध औषधिको बाहिरी आवरणमा ‘मेड इन नेपाल’ लेखिने छ, उहाँले भन्नुभयो, ‘विदेशमा उत्पादित क्यान्सरविरुद्धका महंगा औषधि सेवन गरिरहेका बिरामीलाई अब स्वदेशमै ‘गुणस्तरीय र शुलभ मूल्यमा औषधि उपलब्ध हुनेछ।’

क्यान्सरविरुद्धको औषधि उत्पादन गर्ने उनको उद्योग नेपालकै पहिलो हो। ४० वर्षअघि भारतबाट ‘एन्टि क्यान्सर’ औषधि पहिलो पटक वैधानिक रूपमा दर्ता गरी उहाँकै पिताले आयात गरेकोमा हाल उहाँले नेपालमै क्यान्सर उत्पादन गर्ने पहिलो उद्योग खोल्नुभएको हो।

शरीरको रौं र नङबाहेक अन्य जुनसुकै अंगमा पनि क्यान्सर हुन सक्छ। नेपालमा पुरुषलाई फोक्सो र महिलालाई स्तन क्यान्सरले बढी सताएको छ। यसको औषधि स्वदेशमा उत्पादन नहुने भएकाले भारत र तेस्रो मुलुकबाट आएको औषधि निकै महंगो पर्छ। बाँच्ने आसमा औषधि खरिदका लागि हजारौंले घरबार बेचेका छन्। त्यहीं औषधि बेलाबखत अभाव हुन्छ। भारत, बंगलादेश तथा तेस्रो मुलुकबाट क्यान्सरविरुद्धको औषधि आयात गरिन्छ। यी आयातित औषधिभन्दा सुलभ मूल्यमा निरन्तर पाइनेछ ।