काठमाडौँ, चैत ८ गते । विप्लव प्रतीक मूलतः कवि हुनुहुन्छ । उहाँका ‘नहारेको मान्छे’ (कविता सङ्ग्रह), ‘अ पर्सन किस्ड बाई दी मुन’ (कविता सङ्ग्रह) ‘अविजित’ (उपन्यास) प्रकाशित छन् । उहाँ रङ्गकर्मसँग पनि करिब हुनुहुन्छ । मझौला कद, हँसिलो अनुहार र उहाँको लुगा छनोट गरेर लगाउने तरिकाले उहाँलाई झनै जवान देखाउँछ । उहाँको पछाडि बाटेको लामो कपाल साधुसन्तको जस्तो छ, जसको एउटा भिन्दै कथा छ । उहाँ आफूलाई सधैँ जवान ठान्नुहुन्छ । उमेर सोध्यो भने जिस्किँदै उहाँ भन्नुहुन्छ, “पुरुषलाई कहिले उमेर नसोध्नु । ”

व्यायामका शौखिन प्रतीक साइकल कुदाउँदा रमाउनुहुन्छ । त्यसबाहेक उहाँलाई मन्डला थियटरमा नित्य साँझमा भेटिन्छ– टेबलटेनिस बोर्डमा चेक सट हानिरहेको । उहाँ अझ पनि यति सक्रिय हुनुहुन्छ भन्ने कुरा केही महिनाअघि उहाँ एक जना साथीसँग साइक्लिङ गर्दै काठमाडौँबाट चितवन पुग्नुभएको कुराले नै जनाउँछ । उहाँको यो सक्रियताले उहाँलाई अझ बुढ्यौलीतर्फ धकेलेको छैन । उहाँ अझ युवा नै देखिनुहुन्छ ।

आफूलाई एउटा साधारण मान्छे भन्न रुचाउनुहुन्छ उहाँ । आफ्नो जीवन निर्वाह गर्ने क्रममा चलचित्र बनाउनुभयो, एड्भर्टाइजिङ्मा काम गर्नुभयो र अनुवाद गर्नुभयो तर कविता र गीतलाई खोकिला भित्र राखेर । विप्लव प्रतीकले पत्रकारिता पनि गर्नुभयो । उहाँले चलचित्र पत्रिका ‘मुक्ति’ निकाल्नुभयो । ‘हिमाल खबरपत्रिका’ मा काम गर्नुभन्दा अघि अन्य पत्रपत्रिकातिर लेख्नुहुन्थ्यो । धेरै समय काम गरेको भनेको ‘हिमाल’ मा नै हो । जसमा उहाँले १५ वर्ष बिताउनुभयो ।

जानी नजानी प्रतीकको लेखन यात्रा भने कविताबाट नै सुरु भएको हो । प्रतीक भन्नुहुन्छ, “कविता लेखनलाई लामो अभ्यास चाहिन्छ । समाज र जगत् हेर्ने निश्चित दृष्टिकोण हुनुपर्छ । कविता लेखेर त्यसमा नै पोख्त कहिले भइन्छ थाहा हुँदैन । सम्झिनुपर्ने कुरा के हो भने आफूले लेखेका कविताबारे कविमनभित्र प्रश्न, खुल्दुली र कन्फ्युजन रहिरहनुपर्छ । ”

उहिलेका कविता र अहिलेका कवितामा के फरक होलान् ? जिज्ञासा उचित हो । प्रतीक भन्नुहुन्छ, “उहिले र अहिलेको भन्ने हुँदैन कविता । कविता भनेको त मन्त्र हो । मन्त्रले मानिसको सोचलाई एउटा मार्ग दिन्छ । त्यसमा भाव हुन्छ । भाव सधैँ कालजयी हुन्छ, हुनुपर्छ । हजारौँ वर्षअघि लेखिएका कविता र अहिलेका कवितामा भाषा प्रयोग, प्रस्तुति र शैली फेरिँदै गएको होला तर मानवीय संवेदना, दर्शन र कवि हृदयभित्र हुने वसुधैव कुटुम्बकमको भाव भने निरन्तर उही छ । ”

विप्लव प्रतीक गीत पनि लेख्नुहुन्छ । ‘हर रात सपनीमा ऐँठन हुन्छ’ उहाँको निकै लोकप्रिय गीतमध्ये एक हो । उहाँले अहिलेसम्म ५०० भन्दा धेरै गीत लेखिसक्नुभएको छ । गीत र कवितामा के फरक हुन्छ ? उहाँ भन्नुहुन्छ, “गीत भनेको निजी अभिव्यक्ति हो । आफ्नो निजी अभिव्यक्ति अरूका लागि पनि तिनकै निजी अभिव्यक्ति लागोस् भन्ने कुरामा गीतकार सचेत हुनुपर्छ । ” प्रतीकले केही नाटकलाई अनुवाद पनि गर्नुभएको छ– ‘साइकोसिस ४ः४८’, ‘महाभोज’ र ‘डेथ अफ अ सेल्सम्यान’ । महाकविको मुनामदनलाई नाट्य रूपान्तर गर्नुका साथै राजन खतिवडाका ‘मनचिन्ते फिरन्ते’ र ‘जिजीविषा’ मा संवाद लेख्नुभएको छ ।

नाटक, कविता, पेन्टिङ, सङ्गीत र प्रकृतिमा रमाइरहेका विप्लव प्रतीक आफू को हुन् त ? उहाँ भन्नुहुन्छ, “म को हुँ भनेर सोच्नुभन्दा म के गरिरहेछु भन्ने कुराको अर्थ महìवपूर्ण हुन्छ । त्यसैले अरूलाई असर नपर्ने गरी कहिले अराजक भएर कहिले स्वअनुशासनमा बसेर जीवनको रस जति सक्छु उति पिउनमै व्यस्त छु तर कसरी पिइरहेछु र म के गरिरहेछु भन्ने कुरामा सचेत रहेर । ” आफूसँग केही अपेक्षा छ कि ? उहाँलाई सोध्दा उहाँ फिस्स हाँस्नुहुन्छ । सायद उहाँले उहाँको चर्चित गीतमा यसको जवाफ दिइसक्नुभएको छ:
मलाई मन छ, म भएको कसैलाई थाहै नहोस्
मलाई मन छ, म गएको पनि कसैलाई थाहै नहोस् ।