एक सातादेखि काठमाडौ उपत्यकामा फैलिएको झाडापखालासँगै थप एकजनामा हैजा पुष्टि भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। सानेपाका ५२ वर्षीय पुरुषमा सोमबार हैजा पुष्टि भएको हो। उनको सरुवा रोग अस्पतालमा भर्ना भई उपचार भइरहेको अस्पतालले जनाएको छ।

सोमबार नै टेकु अस्पताल पुगेकी कालीमाटीकी महिलामा पनि हैजाको लक्षण देखिएकोले परीक्षणको लागि नमुना संकलन गरिएको अस्पतालका चिकित्सक डा. किजन महर्जनले बताए। ‘महिलाको नमुनाको रिपोर्ट आउन बाँकी छ,’ उनले भने। उपचारर्थ पुरुषको हैजाको कारण मिर्गौलामा समस्या देखिएकोले थप केही दिन उपचार गर्न आवश्यक रहेको डा. महर्जनले बताए।

थप एक जना सहित उपत्यकामा हैजा पुष्टि हुने तीनजना पुगेका छन्। पहिला हैजा पुष्टि भएका दुइ दिदी वहिनीले धाराको पानी नउमालिकन पानी पिउने गर्थे भने सानेपाका पुरुषले जारको पानी पिउने गरेका थिए। हैजाको कारण दुवै जनाको मिर्गौलामा समस्या देखिएपछि चारदिनदेखि अस्पतालमै उपचारर्थ छन्। अहिले उनीहरूको स्वास्थ्य सामान्य हुँदै गइरहेको डिा. महर्जनले बताए।

चिकित्सकका अनुसार बिरामीहरूको दैनिकी बुझ्दा तीन जनामा हैजा हुनुको पछि अशुद्ध पानी कारण हुन सक्ने अनुमान गरेका छन्। हैजा वाहेक यो अस्पतालमा दैनिक ८ जना झाडापखालाका बिरामी भर्ना भएर उपचारमा आउने गरेको अस्पतालले जनाएको छ। यो हिसावले एक साताभित्रमा औसतमा झाडापखालाका मात्र ६० जनाको उपचार भइसकेको छ।

काठमाडौं मोडेल अस्पतालका अनुसार दैनिक ४ जना झाडापखालाका बिरामी आकस्मिक कक्षमा भर्ना भई उपचार लिइरहेका छन्। बहिरंग बिभागमा उपचार गर्न आएका सहित दैनिक कुल बिरामीको १० प्रतिशत बिरामी झाडापखालाका मात्र हुने गरेको अस्पतालका निर्देशक डा. बिजेन्द्र जोशीले बताए। उपचारमा आउनेहरू सबैजसो नजिकका टोलवासीहरू हुन्।

दुईजनामा हैजा पुष्टि भएको ठाउँ बागबजारमा स्थलगत अध्ययन गर्ने टोली खटाएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. चुमनलाल दासले बताए। टोलीले त्यो क्षेत्रमा प्रयोग भइरहेको पानी र अन्य प्रभावितको स्थितिबारे खोजी गर्नेछ। थप प्रभाव हुन नदिनको लागि जनचेतनाको कार्यक्रम जारी राख्ने निर्देशक दासले बताए।

गत वर्षहरूमा पनि उपत्यकामा वर्षा मौसममा झाडापखालाको समस्या देखिने गरेको र अनुगमनको क्रममा प्रभावितले जारको पानी पिउने गरेको पाइएको छ। जारको पानीको अनुगमन गर्दा वितेको वर्ष पानीमा हैजाको जीवाणु भेटिएकोले यो वर्ष पनि कतिपय जारको पानी शुद्धीकरणविना नै राखिएको हुनसक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभागका संयोजक डा. शेर बहादुुर पुन बताउँछन्। वर्षामा पानीको स्रोत प्रदूषित हुन सक्ने भएकोले पानी उमालेर या शुद्धीकरण गरेर मात्र पिउ र सफाइमा ध्यान दिन, जथाभावी दिसा–पिसाब नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई अपिल गरेको छ।

हैजाको समयमै उपचार नभएमा मिर्गौला तथा अन्य अंगमा असर गरी हैजा भएका मध्येमा ५० प्रतिशत बिरामीको मृत्यु हुने सम्भावना रहेकोले हैजाको कुनै पनि लक्षण देखिएमा समयमै उपचारमा जानको लागि चिकित्सकको सुझाव छ। समुदायमा कडा लक्षण नदेखिएका हैजा संक्रमितले अरूलाई पनि हैजा सार्न सक्ने भएकोले हातको सफाइमा ध्यान दिने, उमालेको या शुद्धीकरण गरेको पानी पिउने, बासी सडेगलेको खाना नखाने, सकेसम्म घरबाहिरका खाने कुरा नखाने गर्नाले झाडापखाला र हैजावाट बच्न सकिने चिकित्सकको सुझाव छ।

उपत्यकामा जारको पानीको माग बढ्ने क्रममा कतिपय जारका कम्पनीले शुद्धीकरण नगरेको पानी समेत आपुर्ति गर्ने क्रममा उपभोक्ताले प्रयोग गर्ने क्रममा झाडापखाला फैलिने गरेको छ। यो जोखिमबाट बच्नको लागि सरकारले उपत्यकाका बिक्री वितरण भइरहेका शंकापस्द पानीहरूको परीक्षण तथा अनुगमनलाई प्रभावकारी पार्न चिकित्सकको सुझाव छ।