काठमाडौं– संसदमा प्रतिनिधित्व गर्ने दलहरुबीच मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे छलफल गर्न फेरि बैठक बस्ने भएको छ ।

प्रधानमन्त्रीको आहवानमा बालुवाटारमा बसेको सर्वदलीय बैठकमा एमसीसीबारे छलफल भए पनि कुनै सहमति नभएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । ‘एमसीसीबारे छलफल भयो,’ बैठकपछि संवाददाताहरुसित सरकारका प्रवक्ता कार्कीले भन्नुभयो, ‘थप छलफल गरेर निष्कर्षमा पुग्ने सहमति भएको छ ।’

एमसीसीबारे केही दलहरुको आशंका रहेकाले फेरि छलफल गरेर निष्कर्षमा पुगिने कार्कीले बताउनुभयो ।

बैठकले संसद निरन्तर अबरोध हुँदा संसदीय गतिविधि जीवन्त हुन नसकेको निष्कर्ष निकाल्दै संवादबाट उपयुक्त सहमति खोज्दै संसद सुचारु गर्न प्रमुख विपक्षी दल नेकपा एमालेलाई अपिल गरेको छ ।