त्रिभुवन आर्मी क्लबकी मिनु गुरुङले प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५४ केजीमा शुक्रबार स्वर्ण जित्नु भएको छ ।

नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भएको प्रतियोगिताको फाइनलमा १३ औँं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी मिनुले नेपाल प्रहरीकी निशा तामाङलाई पराजित गर्नुभयो ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हाताको कराते हलमा भएको प्रतियोगिताको महिला ४८ केजीमा नक्सालकी सुष्मा तामाङले एचटुओकी अस्मिता दुवाल, ५० केजीमा एपीएफकी माला राईले कास्कीकी सोनिया बरुवाल तथा ५२ केजीमा आर्मीकी ललिता महर्जनले नक्सालकी शिला राईलाई फाइनलमा हराउनुभयो ।

पुरुष ४८ केजीमा आर्मीका सुशील थापाले सुर्खेतका मोहन गुरुङ, ५१ केजीमा एपीएफका प्रदीप महर्जनले आर्मीका सुवास तामाङ, ५४ केजी आर्मीका प्रेम चौधरीले भूपु बक्सिङका उपास गुरुङ, ५७ केजीमा एपीएफका पुरन राईले बक्समान्डुका सुरज महर्जन, ६० केजीमा बीएनकेबीका इन्द्रबहादुर सुनारले कञ्चनपुरका महेन्द्र चन्द तथा ६३.५ केजीमा एपीएफका सोनम सार्कीले आर्मीका दोलबहादुर चौधरीलाई पाखा लगाउदै स्वर्ण जित्नुभयो ।

प्रत्येक स्पर्धाका विजेतालाई पाँच सय युरो, उपविजेतालाई तीन सय युरो र तेस्रो हुनेलाई दुई सय युरो नगद पुरस्कार प्रदान गरिएको थियो । नगद पुरस्कार अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आईबा) का अध्यक्ष उमार क्रेम्लेभले व्यक्तिगत रुपमा उपलब्ध गराउनु भएको हो । विजेतालाई पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतले पुरस्कार प्रदान गर्नुभयो ।