नेपालगञ्ज, माघ ६ गते । नेपालगञ्ज विमानस्थलको मौसम खराब हुँदा काठमाडौबाट नेपालगञ्ज आएको बुद्ध एअरको विमान अवतरण गर्न नसकेर होल्ड गरिएपछि आत्तिएर एक जना महिला यात्रु बेहोस हुनुभएको छ । उहाँ सामान्य उपचार पछि घर फर्कनु भएकाे छ । 
मौसम खराब हुँदा करिब आधा घण्टाजति जहाजलाई आकाशमै होल्ड गरेर राखिएपछि सो विमानमा यात्रा गरिरहनु भएकी काठमाडौं महानगरपालीका वडा नम्वर २३ कि ५३ वर्षिया जानुका थापा आत्तिएर बहोस हुनुभएको प्रहरीले जनाएको छ ।
नेपालगञ्ज विमानस्थलको सुरक्षा गार्डका प्रमुख सई सन्तोष शाहले विमान हावामा होल्ड रहेकै अवस्थामा थापा आत्तिएर बेहोस भएकोमा उहाँलाई तत्काल नजिकै रहेको नेपाली सेनाको अस्पतालमा लगिएको बताउनुभयो ।
अस्पतालमा पुगेपछि उहाँको होस खुलेको र नेपालगञ्जमा रहनु भएका उहाँका आफन्तले अस्पतालमा पुगेर उहाँसंगै रहनु भएको पनि सई शाहले बताउनुभयो ।
विमानमा एक्लै यात्रा गरिरहनु भएकी थापा आत्तिएको र डराएको विमानमा रहनु भएका अन्य यात्रुहरुले जनाएको पनि प्रहरीले जनाएको छ ।
विहिवार विहान काठमाडौं बाट ८ बजे उडान भरेको वुद्ध एयरको उक्त जहाज ८ः५५ बजे सम्म नेपालगञ्जमा अवतरण गरिसक्नु पर्नेमा भिजिविलिटी कम भएका कारण जहाजलाई नेपालगञ्जको आकाशमा करिव ३० मिनेट नै होल्ड गरेर ९.२५ मा अवतरण गराईएको थियो ।
मौसमको खराबी वा ट्राफिकका कारण जहाजलाई आकाशमा होल्ड गराउनु सामान्य मानिने भए पनि ती महिला यात्रु आत्तिएकोले अलिकति स्वास्थ्यमा समस्या आएको बुद्ध एअर नेपालगञ्जले जनाएको छ ।
सो बारेमा बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेसंग जानकारी माग्दा उहाँले आत्तिएर जहाजमा बेहोस हुनुभएकी महिलाको सामान्य उपचारपछि उनका आफन्तले आफुसंग घर लिएर गैसकेको बताउनुभयो ।
पछिल्लो समयमा जहाजहरुमा उड्दा उड्दै ढोका खुल्ने, अन्य खराबी आउने र इन्जन बन्द हुने केही यात्रुहरु सामान्य कुरामा पनि आत्तिने र तर्सिने गरेको पाईएको छ ।