नेपालगञ्ज, पुस २४ गते । रोजगारीलगायत अन्य कामले भारतका ठूला शहरहरुमा गएर फर्किने नेपालीहरुमा कोरोना सङ्क्रमण देखिने क्रम एक्कासी बढेको छ । शुक्रवार एकैदिन ३७ जनामा कोरोना सङ्क्रमित भेटिएको नेपाल–भारत सीमानाको जमुनाहास्थित हेल्थ डेस्कले जनाएको छ ।

भारतबाट आउने नेपालीहरुमध्ये ७१० जनाको नाकामा एन्टिजेनमार्फत गरिएको परिक्षणमा ३७ जनामा सङ्क्रमण पुष्टि भएको जमुनाहास्थित हेल्थ डेस्कका प्रमुख चिरन्जीवी ज्ञवालीले बताउनुभयो । उहाँले यसअघि बिहीबार पनि ५२६ जनाको परीक्षण गर्दा २७ जनामा सङ्क्रमण पुष्टि भएको बताउनुहुँदै गत केही दिनयता एक्कासी सङ्क्रमितक भेटिने क्रम बढेको बताउनुभयो ।

भारत नेपाल नाकामा दैनिक हजारौंको सङ्ख्यामा दुवै देशका नागरिकको आवागमन भइरहेपनि दैनिक ७ देखि ९ सय जनासम्मको मात्रै परीक्षण भइरहेको र अन्य सबै परीक्षण बिनै ओहोरदोहोर गरिरहेका छन् । जमुनाहास्थित हेल्थ डेस्कका प्रमुख ज्ञवालीका अनुसार शनिबार पनि विहान ९ बजेसम्म २५० जनाको परीक्षण गर्दा १६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

भारतबाट फर्किनेहरुमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले नेपालगञ्जलगायत अन्य जिल्लाहरुमा कोरोना सङ्क्रमण फैलिने सम्भावना अत्याधिक बढेको हेल्थ डेस्कले जनाएको छ । भारतमा ओमिक्रोनका संक्रमित समेत तिव्र गतिमा बढ्दै गएकोले नाकामा निकै सावधानी अपनाउनुपर्ने तथा कुनै पनि व्यक्तिलाई परीक्षण विना ओहोरदोहोर गर्न नदिन स्थानीयको माग छ ।

जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेले नाकामा कडाई गरिएको जनाएपनि हजारौं व्यक्तिको ओहोर दोहोर हुने नाकामा केही सयको मात्रै परीक्षण भइरहेको छ । यस्ले धेरै जना सङ्क्रमित नेपालमा छिरिरहेको र उनिहरुबाट अन्यमा संक्रमण सर्ने संभावना अत्याधिक बढेको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालका सुचना अधिकारी डा. संकेत कुमार रिसालले नाकामा कुनै पनि व्यक्तिलाई परीक्षण नगरेर आवागमन गर्न नदिन सुझाव दिनुभएको छ । उहाँले नाकामा कडाई नगरिए बाँकेमा फेरि दोस्रो लहरको बेला भएको अवस्था दोहोरिन सक्ने ।