कार्यालयभित्रै सेवाग्राहीमाथि हातपात गरेको भिडियो सार्वजनिक भएपछि यातायात व्यवस्था कार्यालय, बाराका निमित्त प्रमुख चिन्तन आचार्यको जिम्मेवारी खोसिएको छ।

श्रम तथा यातायात मन्त्रालय, मधेश प्रदेशले मन्त्रीस्तरीय निर्णयमार्फत आचार्यलाई कार्यालयबाट हटाई मन्त्रालयमा तानेको जनाएको छ। मन्त्रालयका सूचना अधिकारी सुनिल साहका अनुसार घटनाको गम्भीरता तथा सार्वजनिक चासोलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको हो।

आचार्यको स्थानमा यातायात व्यवस्था कार्यालय, बाराका अधिकृत रामस्वार्थ महतोलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ।

यसैबीच, घटनाबारे प्रहरीको अनुसन्धान जारी रहेको छ। प्रहरीका अनुसार भिडियो सार्वजनिक भएपछि घटनाको सत्यतथ्य छानबिन सुरु गरिएको छ। धनुषा प्रहरीमार्फत बारा प्रहरीले चिन्तन आचार्यलाई अनुसन्धानका लागि कार्यालयमा उपस्थित हुन निर्देशन दिएको जनाएको छ।

कार्यालयभित्र सेवाग्राहीमाथि सरकारी कर्मचारीबाट भएको भनिएको दुर्व्यवहारको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। घटनाप्रति सर्वसाधारणले निष्पक्ष छानबिन र कानुनी कारबाहीको माग गरेका छन्।

मन्त्रालयले घटनाको थप अनुसन्धानको निष्कर्षका आधारमा आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाइने जनाएको छ।