काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा तथा तास खेल्ने–खेलाउने गरेको आरोपमा ११ जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार बुढानीलकण्ठ नगरपालिका–१, तौलुङस्थित गरुड क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–६ का ३४ वर्षीय बिकी लामा, सोलुखुम्बुको माकालुङ गाउँपालिका–३ का ३९ वर्षीय नुवाङ शेर्पा, सोलुदूधकुण्ड नगरपालिका–९ का ३९ वर्षीय पासाङ शेर्पा, सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ की ३२ वर्षीया ज्योति मगर र दोलखाको बैतेश्वर गाउँपालिका–८ का ३५ वर्षीय नारायण खत्री रहेका छन्।

त्यस्तै, काठमाडौंका ४४ वर्षीय दिल लामा, काभ्रेको रोशी गाउँपालिका–१ का ४४ वर्षीय अशोक लामा, नुवाकोटको दुप्चेश्वर गाउँपालिका–३ का ३२ वर्षीय सञ्जय तामाङ, रामेछापको उमाकुण्ड गाउँपालिका–४ का ४० वर्षीय आशिष खड्का, ललितपुरका ४९ वर्षीय सविनमान श्रेष्ठ र धनकुटाको जोरपाटी गाउँपालिका–४ का ३० वर्षीय सुदीप अधिकारी पक्राउ परेका छन्।

उनीहरूलाई काठमाडौं उपत्यका प्रहरी परिसर र प्रहरी प्रभाग बूढानीलकण्ठको संयुक्त टोलीले मंगलबार दिउँसो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट १० लाख ८५ हजार ६ सय रुपैयाँ नगद तथा केही क्यासिनो क्वाइन समेत बरामद गरेको जनाएको छ।

पक्राउ परेकाहरूविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट दुई दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।