नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि शनिबार दिउँसोसम्म वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले कात्तिक १२ गते बिहीबारदेखि पानी पर्नसक्ने सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बिहीबारदेखि पानी पर्न सक्ने सम्भावना । शनिबार बिहानसम्म वर्षा रहने र त्यसपछि मौसम सुधार हुने सम्भावना छ ।”
उहाँले बङ्गालको खाडीमा चक्रवात बनिरहेकोले यसको प्रभाव नेपालसम्म पर्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “बङ्गालको खाडीमा चक्रवात बनिरहेको छ, भारतको आसपासको राज्यहरुबाट विस्तार भइ नेपालतर्फ आउने र यसको प्रभावको कारणले पानी पर्न सक्ने सम्भावना देखिएको हो ।”
भारतमा बनेको उक्त प्रणालीको सबैभन्दा बढी प्रभाव हिमाली र पहाडी भूभागमा हुने सम्भावना देखिएको उहाँको भनाइ छ । यससँगै तराई क्षेत्रहरुमा पनि यसको प्रभाव पर्ने देखिएको छ ।
उहाँ भन्नुहुन्छ, “सो अवधिमा मध्यम वर्षाको सम्भावना धेरै देखिन्छ । थोरै ठाउँमा भारी वर्षा, एक, दुई ठाउँमा अति भारी वर्षाको सम्भावना पनि देखिन्छ ।”

प्रतिकृयाहरु