रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ। पहिरोले स्थानीय बासिन्दाका घर तथा गोठ पुरिँदा दुई जना घाइते भएका छन् भने तीन जना अझै बेपत्ता रहेको नेपाल प्रहरीले जनाएको छ ।

पहिरोमा परी गम्भीर घाइते भएका दुवै जनालाई थप उपचारका लागि बुटवल पठाइएको छ। यस्तै, बेपत्ता भएका तीन जनाको खोजी कार्य निरन्तर जारी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी गराएको छ । 

पहिरोमा परी रोल्पाको थबाङमै ज्यान गुमाउनेमा १८ वर्षीया शान्ति पुन मगर, ६०  वर्षीय कमल बहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षीय दल बहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगर हुनुहुन्छ ।

यसैगरी, पहिरोमा बगेर छिमेकी जिल्ला प्युठानतर्फ पुगेको अवस्थामा मृत फेला पर्नेमा थबाङ–५ का ७  वर्षीय अशोक पुन मगर, ३४ वर्षीय महेन्द्र घर्ती, ६६ वर्षीय मनि पुन मगर, ३४ वर्षीया विष्णु भन्ने जुन कुमारी पुन मगर र ८० वर्षीय बल बहादुर पुन मगर हुनुहुन्छ ।

पहिरोमा परेर २२ वर्षीय हिमाल पुन मगर र २५  वर्षीय सञ्जय घर्ती मगर घाइते हुनुभएको छ । घाइतेलाई प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ ।

यस्तै पहिरोमा परी ९ वर्षीय अशिम पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर र ७२ वर्षीय लिल बहादुर पुन मगर बेपत्ता हुनुभएको छ। बेपत्ताको खोजी भइरहेको छ।