काठमाडौँ, मङ्सिर ८ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । नसासम्बन्धी रोगबाट पिडित शेर्पाको बुधबार बिहान विशालनगरस्थित ओरिगन केयर होममा निधन भएको नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

५० वर्षीय शेर्पा पछिल्लो तीन वर्षदेखि अस्वस्थ हुनुहुन्थ्यो । नसासम्बन्धी रोगले थला पर्नुअघि उहाँले अमेरिका, भारत र चीनमा समेत उपचार गराउनुभएको थियो । तर विदेशमा उपचार सम्भव नभएपछि उहाँ पछिल्लो दुई वर्षदेखि ओरिगन केयर होममा रहेर उपचार गराइरहनुभएको थियो ।

अमृत साइन्स क्याम्पसका पूर्व सभापति शेर्पा एनओसीका पूर्व महासचिव, नेकपा एमाले निकट नेपाल खेलकुद महासङ्घका पूर्व महासचिव र नेपाल बास्केटबल सङ्घका पूर्व अध्यक्ष हुनुहुन्थ्यो । नेपालमा बास्केटबल खेलको विकासका लागि शेर्पाको उल्लेख्य योगदान रहेको छ । शेर्पाको बौद्धस्थित शेर्पा गुम्बामा अन्तिम संस्कार गरिने बताइएको छ ।