भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका नवलपुरको मध्यविन्दुका १२ जनाको कुशको शव बनाएर सामूहिक अन्त्येष्टि गरिएको छ ।
२४ दिन बितिसक्दा पनि कुनै पत्ता नलागेपछि कुशको शव बनाएर नारायणी नदी किनारमा शुक्रबार सामूहिक अन्त्येष्टि गरिएको हो ।
भोटेकोशी बाढीमा परी नवलपुरका २० जना बेपत्ता भएकामा मध्यविन्दु नगरपालिकाका १२ जना थिए । वडा नं. ५ बाघखोरका ९ जना र वडा नं. १ सेतापानीका ३ जना बेपत्ता भएका हुन् ।
लामो समयसम्म पनि कुनै अत्तोपत्तो नलागेपछि कुशको शव बनाएर अन्त्येष्टि गर्नुको विकल्प नरहेको बेपत्ता हुनुभएका नुमनारायण महतोकी श्रीमती चुनकुमारी महतोले बताउनुभयो ।
मध्यविन्दु–१ सेतापानीका हेमबहादुर चौधरी, हुसनबहादुर थारु र कालिराम महतो थारु बेपत्ता भएका हुनुभएको हो ।
त्यस्तै, मध्यविन्दु–५ बाघखोरका जीवन विक, गंगाराम मुखिया, विशाल मुखिया, सिताराम महतो, युद्ध महतो, एकदेव महतो, नुम नारायण महतो, केवलप्रसाद महतो र तेजबहादुर थारु बेपत्ता हुनुभएको नगरपालिकाले जनाएको छ ।
उहाँहरु सबै जना रसुवागढीको टिमुरेस्थित शेर्पा हाइड्रो पावर विल्डिङ कन्स्ट्रक्सनमा कार्यरत हुनुहुन्थ्यो ।
नवलपुरबाट २० जना बेपत्ता भएकामा मध्यविन्दु नगरपालिकाका १२, कावासोतीका ३, विनयी त्रिवेणीका ३ तथा गैँडाकोट र देवचुली नगरपालिकाका एक–एक जना बेपत्ताको सूचीमा छन् ।

प्रतिकृयाहरु