चाडपर्व नजिकिएसँगै बुढानीलकण्ठ नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ। उपभोक्ता हित संरक्षण, कालोबजारी नियन्त्रण तथा अखाद्य र म्याद गुज्रिएका वस्तुको बिक्री रोक्ने उद्देश्यले नगरपालिकाले वडा नं. ९ क्षेत्रमा बजार तथा व्यवसायको अनुगमन गरेको हो।

अनुगमनका क्रममा पसल तथा व्यवसायमा बिक्रीका लागि राखिएका खाद्यवस्तुको गुणस्तर, म्याद, मूल्यसूची, सरसफाइ तथा व्यवसाय सञ्चालनसम्बन्धी मापदण्डको निरीक्षण गरिएको नगरपालिकाले जनाएको छ। उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउने उद्देश्यले बजार अनुगमनलाई निरन्तरता दिने नगरपालिकाको भनाइ छ।

तर चाडपर्वको समयमा मात्रै बजार अनुगमन तीव्र बनाउने प्रवृत्तिमाथि भने प्रश्न उठ्न थालेको छ। वर्षभरि बजारमा वस्तुको मूल्य, गुणस्तर र व्यवसायीले पालना गर्नुपर्ने मापदण्डको नियमित निगरानी हुनुपर्ने उपभोक्ताको अपेक्षा छ।

अनुगमनका क्रममा केही व्यवसायलाई सचेत गराउने तथा आवश्यक निर्देशन दिने गरिएको भए पनि बढी मूल्यमा सामान बिक्री गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने वा कालोबजारी गर्ने व्यवसायीमाथि प्रभावकारी कारबाही भएको अनुभूति उपभोक्ताले गर्न नसकेकोगुनासो सुनिने गरेको छ। त्यसैले अनुगमन केवल चाडपर्व केन्द्रित औपचारिकतामा सीमित नभई बजारको नियमित नियमन र उपभोक्ता संरक्षणसँग जोडिनुपर्ने आवश्यकता देखिएको छ।

विशेषगरी चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको माग बढ्ने भएकाले मूल्य वृद्धि, कृत्रिम अभाव, म्याद गुज्रिएका खाद्यवस्तुको बिक्री तथा गुणस्तरहीन सामग्री बजारमा आउन सक्ने जोखिम हुन्छ। यस्तो अवस्थामा अनुगमन टोलीले मूल्यसूची राखे/नराखेको मात्र होइन, खरिद मूल्य र बिक्री मूल्य, बिल–बिजक, वस्तुको वास्तविक गुणस्तर तथा भण्डारण अवस्थासमेत परीक्षण गर्नुपर्ने उपभोक्ताको माग छ।

बुढानीलकण्ठ नगरपालिकाले बजार अनुगमनलाई प्रभावकारी बनाउन वडा तहसम्म नियमित निगरानी संयन्त्र विस्तार गर्नुपर्ने देखिन्छ। दोषी भेटिएमा कानुनअनुसार कारबाही गर्ने र राम्रो व्यवसाय गर्ने व्यापारीलाई समेत स्पष्ट मापदण्ड उपलब्ध गराउने व्यवस्था भएमा बजार व्यवस्थापन थप प्रभावकारी हुन सक्छ।

उपभोक्ता हित संरक्षणका लागि ‘चाडपर्व आयो, अनुगमन भयो’ भन्ने प्रवृत्तिभन्दा वर्षभरि नियमित अनुगमन, पारदर्शी कारबाही र उपभोक्ताको गुनासो तत्काल सम्बोधन गर्ने प्रणाली आवश्यक छ। बजार अनुगमनको वास्तविक प्रभाव त्यतिबेला देखिनेछ, जब उपभोक्ताले उचित मूल्यमा गुणस्तरीय वस्तु पाउने सुनिश्चितता महसुस गर्नेछन्। प्रभावकरिताको बिषयमा यस किसिमका अनुगमनले उपभोक्ता माझ केहि सहजता प्रदान भने अवस्य गर्नेछ।