बिर्तामोड, असार १९ गते । झापा अर्जुनधारा–४ स्थित जुकेखाडी–साहसी टोलभित्रको ह्युमपाइपमा केहिदिन अघि बोरामा फेला परेको शवको पहिचान खुलेको छ । 

उक्त शव भारत गुजरातका ४० वर्षीय जपडिया नरेश कुमार बाबु भाइको भएको झापा प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । प्रहरीले उनको हत्यामा संलग्न तीनजनालाई शनिबार पक्राउ गरेर सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा अर्जुनधारा–७ की ३२ वर्षीया जानुका देवी थापा, ४९ वर्षीय विजय भन्ने बृखबहादुर थापा र सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका–१० बस्ने २५ बर्षीय सुरेश परियार रहेका छन् । उनीहरुलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । फरार रहेका एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, हत्याका लागि ५ लाखको सुपारी दिएर ती व्यक्तिको हत्या गरेको अनुसन्धानबाट खुलेको छ । सुपारी लिएर बराह क्षेत्रका परियार र अर्का एक व्यक्तिले हत्या गरेको झापाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।

गुजरात घर भएका मृतकसँग जानुका थापाको भारतमै चिनजान भएको थियो । ०७६ सालमा कामको सिलसिलामा थापा भारत पुगेकी थिइन् । प्रहरीका अनुसार ५९ हजार भारतीय नक्कली नोटसहित पक्राउ परेका मृतक इटहरीमा तारेख धाइरहेका थिए । तारेखकै लागि उनी नेपाल आएको प्रहरीको भनाइ छ ।

०७६ सालमा मृतकले थापाको छोराछोरीका लागि खेलौना पठाएको र थापाले ती भारतीय नागरिकबाट घर निर्माणको भनेर ५ लाख रुपैयाँसमेत सापटी लिएको पनि अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले मृतक असार ७ गते भारतबाट अर्जुनधारा आएको र ८ गतेसम्म थापा कै घर बसेका मृतक ९ गते तारेखका लागि इटहरी गएर फेरि अर्जुनधारा नै फर्किएको बताउँनुभयो ।  असार ९ गते राती साढे ८ बजे मृतकसहित परियार र अर्का एक व्यक्तिले सँगै मादक पदार्थ खाएको र सोही समयमा कुटपिट गरी फलामको मार्तोलले शरीरका विभिन्न भागमा हिर्काएर हत्या गरेको प्रहरीको भनाइ छ।

 तारिखको क्रममा अघिल्लो पटक नेपाल आउँदा मृतक जानुकाको घरमा बसेको र सो समयमा जानुकालाई दुरव्यवहार गरेको हुँदा सोही समयमा जानुकाले उनको हत्या गर्ने योजना बनाएको एसपी पोखरेलले जानकारी दिनुभयो ।

अनुसन्धानमा उच्चस्तरको प्रविधि प्रयोग गरी मृतकको पहिचान गर्नुका साथै हत्यामा संलग्नहरुलाई पक्राउ गरिएको एसपी कुँवरको भनाइ छ ।

हत्या गरे बापत थापाले परियारलाई २ पटकमा २ लाख र अर्का एक व्यक्तिलाई १ लाख दिएको अनुसन्धानबाट खुलेको छ । घटनास्थलबाट एउटा मोटरसाइकल, मार्तोल, फरुवा, खुकुरी, २ थान तन्ना, डोरी, झोला, ३ थान मोवाइल र २ वटा खाली बोतल फेला परेको थियो । 

प्रहरीका अनुसार हत्या पछि संलग्नहरुले पुर्ने सोच बनाएको तर अन्तिममा बोरामा प्याक गरेर थापाले आफ्नो मोटरसाइकलमा अर्का एक ब्यक्तिसहित लगेर ह्युमपाइपमा प्याँकेको प्रहरीले जनाएको छ  । उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ   ।