म्याग्दी, भदौं १३ गते । म्याग्दीको प्रशिद्ध गलेश्वर मन्दिरको छाना पित्तलले छाउन सुरु गरिएको छ । मन्दिरलाई आकर्षक बनाउन गलेश्वर क्षेत्र विकास कोषले मन्दिरको छाना पित्तलले छाउन लागेको हो । ३१ लाख ७५ हजार रुपियाँ लागतमा मन्दिरको छाना पित्तलले छाउन लागिएको गलेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुनले जानकारी दिनुभयो । २३ वर्ष अघि निर्माण गरिएको मन्दिरको छानालाई समयको माग अनुसार राम्रो र आकर्षक बनाउन छाना पित्तलले छाउन लागिएको उहाँको भनाइ छ ।

सिमेन्टको छानामाथि प्लाई राखेर त्यसमाथि पित्तल हालिएको उहाँको भनाइ छ ।

कोषले मन्दिर छाउनका लागि उग्रचण्डी मेटल कार्विन काठमाण्डौं सँग ठेक्का सम्झोता गरेको कोषका कार्यालय सचिव राम बानियाँले बताउनुभयो । भदौं महिना भित्रमा सम्पन्न गर्ने गरी साउनको दोस्रो हप्ताबाट छाना छाउन सुरु गरिएको उहाँले बताउनुभयो । वि.सं. २०७७ फागुन १५ गते भएको कोषको १५औँ कार्यकारी सभाले गरेको निर्णय अनुसार मन्दिरको छानालाई फेर्न काम सुरु गरिएको कोषका कार्यालय सचिव बानियाँले बताउनुभयो ।

छाना छाउन कोषका आजीवन सदस्य रमेश शर्माले पाँच लाख ५५ हजार ५५५ रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउनुभएको र वाँकी रकम भक्तजनहरुबाट मन्दिरलाई प्राप्त भएको चन्दा तथा भेटीको रकमबाट खर्च गरिने कोषाध्यक्ष पुनले बताउनुभयो । मन्दिरको सवैतिरको भागको छाना पित्तलले छाइने र गजुर पनि पित्तलको राखिने उहाँले बताउनुभयो ।

कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित बेनी नगरपालिका ९ गलेश्वरमा शिवालय मन्दिर छ । हिन्दू धर्मगन्थ्रमा गलेश्वरमा सतिदेवीको गला पतन भएको उल्लेख छ । साउन महिनाको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा मेला लाग्ने गलेश्वरमा दैनिक पूजाआजा हुन्छ । गलेश्वर मन्दिर म्याग्दीको प्रमुख धार्मिकस्थल हो ।