काठमाडौँ- न्याय परिषद्को आज बसेको बैठकले जिल्ला अदालत काठमाडौँका न्यायाधीश राजकुमार कोइरालामाथि अध्ययन गर्न न्यायपरिषद् सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ ।

न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई धरौटीमा छुटाउन करीव २ करोडको मोलमोलाई गरेको श्रव्य सामग्रीको सत्यताबारे अनुसन्धान गर्न उक्त समिति गठन गरेको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो ।

छानबिन समितिमा न्याय परिषद् सदस्य श्रेष्ठका संयोजक, सदस्य पाटन उच्च अदालतका कामु मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र अर्को न्यायाधीश महेश शर्मा पौडेल रहनुभएको छ । परिषद्का प्रवक्ता कार्कीका अनुसार समितिलाई कार्य अवधि ४५ दिन दिइएको छ ।
उक्त सहकारीबाट वचतकर्ताको रकम हिनामिना गरेको अभियोगमा हाल पुर्पक्षका लागि थुनामा रहेका तामाङसहितलाई धरौटीमा छुटाउने विषयमा न्यायाधीश कोइराला र कानुन व्यवसायी पोखरेलबीच कुराकानी भएको श्रव्य सामग्री सार्वजनिक भएको थियो ।।