काठमाडौं, पुस २१ ग्ते । महिलालाई भारतको कोठीमा पुर्‍याइ बेचेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महिलालाई भारतको कोठीमा पुर्‍याइ बेचबिखन गरेको अभियोगमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–५ ठेगाना भएकी २६ वर्षीया अनिशा तामाङ भनिने फूलमाया तामाङलाई पुस ९ गते प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीको टोलीले बुढानिलकण्ठ नगरपालिका–१० कपनबाट तामाङलाई पुस ९ गते पक्राउ गरेको हो ।

फूलमायाले पीडित महिलालाई विभिन्न प्रलोभन देखाई २०७४ साउनमा बेहोश हुने औषधि खुवाएर विभिन्न ठाउँ हुँदै भारतको बम्बई, ईलाबाद, कलकत्ता तथा कुचबिहारको कोठीहरुमा पुर्‍याइ पटक–पटक बेचबिखन गरी वेश्यावृत्तीमा लगाएकी थिइन् । भारतीय प्रहरीको समन्वयमा नेपाली राजदुतावास तथा नेपालस्थित विश्व सेवा विस्तार संस्थाको सहयोगमा गत असोज २३ गते ती महिला नेपाल फर्किन सफल भएको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेकोव्यूरोले जनाएको छ ।