प्रत्येक बर्ष उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको संख्या बढेसँगै नेपालका विश्वविद्यालयहरुलाई विद्यार्थीको अभाव हुन थालेको छ ।

गत बर्ष मात्र १ लाख १५ हजार भन्दा बढी विद्यार्थीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट एनओसी लिएको र यस बर्ष समेत ७० हजार विद्यार्थीले एनओसी लिएपछि विश्वविद्यालयहरु पूर्ण क्षमतामा विद्यार्थी भर्ना गर्न असफल भएका हुन् ।

नेपालका विश्वविद्यालयहरुमा करिब २ लाख विद्यार्थी भर्ना गर्न सक्ने क्षमता रहेपनि विद्यार्थी विदेशिएपछि करिब ९५ हजार विद्यार्थी मात्र नेपालमा रहेको अनुमान गरिएको छ ।

त्यसैले त काठमाडौ विश्वविद्यालयमा मात्र गत बर्ष स्कुल अफ आर्टस् र स्कुल अफ मेडिसिनतर्फ एमबीबीएस र बीडीएस बाहेकका सिटमा ४० प्रतिशत सिट खाली रह्यो ।

पुरानो पाठ्यक्रम, पुराना विषयवस्तु भनिएपनि नयाँ विषय र परिमार्जित पाठ्यक्रम हुँदा पनि थोरै विद्यार्थी भर्ना भएको भनाई काठमाडौ विश्वविद्यालयको छ ।

काठमाडौ विश्वविद्यालय र शिक्षा पत्रकार सञ्जाल इजोनद्वारा आयोजित छलफल कार्यक्रममाविश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले विद्यार्थी घट्नु चिन्ताको विषय भएको बताउनुभयो ।

विद्यार्थी कम भएको र आकर्षण नभएका विषय र कार्यक्रमहरुलाई हटाउने तयारी काठमाडौ विश्वविद्यालयले गरिरहेको छ । त्यसबखत प्राध्यापक लोकराज बरालले शिक्षालाई समाजसंग जोड्न नसक्दा समस्या देखिएको उल्लेख गर्नुभयो ।

नेपालका विश्वविद्यालयहरुमा बेथिति बढ्नुकासाथै शैक्षिक क्यालेन्डर प्रकाशन हुन नसक्नु, राजनीतिक हस्तक्षेपका कारण विदेशिन बाध्य भएको भनाई विद्यार्थीको छ ।