महोत्तरीको विभिन्न ठाउँबाट नक्कली र प्रतिबन्धित रकमसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक सरोज राईका अनुसार नक्कली रकमसहित जिल्ला महोत्तरी मनरासिस्वा न.पा. वडा ५ बथनाहा बस्ने वर्ष ३७ को ओमि हुसेन तथा जलेश्वर न.पा. वडा ३ बस्ने वर्ष ३४ को विमलेश पाण्डेलाई प्रतिबन्धित रकमसहित पक्राउ गरिएको छ ।

जिल्लाको मनरासिस्वा न.पा. ६ सरपल्लो चोकमा चेकजाँच गरिरहेको प्रहरीहरुले शङ्काको आधारमा पैदल गइरहेका ओमि हुसेनलाई चेकजाँच गर्दा उनले हातमा लुकाइराखेको एक हजारको एक थान नक्कली नोट बरामद गरेको थियो । हुसेनले लुकाइराखेको नोट नक्कली रहेको पुष्ट्याइँ भएपछि उनलाई नियन्त्रणमा लिइएको जनाएको छ । 

त्यसैगरी प्रहरीले विशेष सूचनाको आधारमा प्रतिबन्धित १० लाख भारुसहित पाण्डेलाई पक्राउ गरेको जनाएको छ । भारतीय रुपियाँ बोकी भारतबाट नेपाल आउँदैगरेको सूचना पाएका प्रहरीले चेकजाँचको क्रममा कालो कपडामा बाँधिएको अवस्थामा प्रतिबन्धित भारु पाँच सयको १९९६ थान पाण्डेको साथबाट बरामद गरेका थिए । 

प्रहरी निरीक्षक राईले पाण्डेको साथबाट नौ लाख ९८ हजार भारतीय रुपियाँ बरामद गरिएको जानकारी दिनुहुँदै उनलाई विदेशी विनियम (नियमित गर्ने) ऐन २०१९ अन्तर्गत आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको बताउनुभयो । 

केही दिनअघि मात्रै प्रहरीले सीमा क्षेत्रमा विना इजाजत विदेशी मुद्रा सटही गर्ने एक भारतीय नागरिकसहित नौ जनालाई नियन्त्रणमा लिएको थियो । 

जसमा भारत विहार हरिसिद्धी थाना मोठलिया गाउँका ३३ वर्षीय जितेन्द्रकुमार महतो, जलेश्वर नपा ३ का जितेन्द्रकुमार सिंह, अकवर अन्सारी, जिलानी अन्सारी, धिरज मण्डल, राम एकवाल मण्डल, सुशील साह र जलेश्वर नपा २ का नन्दकुमार साह रहेका थिए । 

जिल्लाको मूलनाका भिठामोड भन्सारमा विदेशी मुद्रा सटही गर्ने उनीहरुको साथबाट प्रहरीले १४ लाख ३७ हजार ६४० भारु तथा ८२ हजार २०५ नेपाली रुपियाँ बरामद गरेको जनाएको छ ।