नेपालमा डेंगु सङ्क्रमणबाट २० जनाको मृत्यु भएको छ । विगत १८ दिनमा डेंगु सङ्क्रमण हुने सङ्ख्या ह्वात्तै बढेर झण्डै १२ हजार पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य प्रमुख डा.गोकर्ण दाहलका अनुसार डेंगुको सङ्कमणबाट २० जनाको मृत्यु भएको हो । 

उहाँका अनुसार मृत्यु भएका ७ जना १४ वर्ष मुनीका बालबालिका रहेका छन् ।

दाहलका अनुसार, हालसम्म ७५ जिल्लाबाट १६ हजार ५८७ जनामा डेंगु पुष्टि भइसकेको छ । यो वर्ष नेपालमा सङ्क्रमण जुलाईबाट बढ्दै गएको देखिन्छ । जुन महिनामा एक सय भन्दा तल रहेको सङ्क्रमणदर जुलाइमा बढेर ७२० पुगेको छ । त्यस्तै, अगस्ट महिनामा तीन हजार ७०८ जनामा डेंगु पुष्टि भएको छ । सेप्टेम्बर महिना सुरु भएदेखि १८ दिनमा ११ हजार ९९४ जनामा डेंगु पुष्टि भएको पाइन्छ ।

 सबैभन्दा बढी बागमतीमा

डेंगुको सङ्क्रमण सबैभन्दा धेरै बागमती प्रदेशमा १२ हजार ४०१ जनामा पुष्टि भएको छ । यस्तै, लुम्बिनीमा दुई हजार ४२२, प्रदेश १ मा ५०४, सुदूरपश्चिममा ४९३, गण्डकीमा ३२२, मधेश प्रदेशमा २४२ र  कर्णाली प्रदेशमा २०३ जनामा डेंगु पुष्टि भएको छ ।

देशका १० जिल्लामा सबैभन्दा बढी १४ हजार ६३ जनामा डेंगु पुष्टि भएको छ । जिल्लाअन्तर्गत सबैभन्दा बढी ललितपुरमा चार हजार ६०४, काठमाडौंमा चार हजार ४५४, मकवानपुरमा एक हजार ५९७, दाङमा ९९४, भक्तपुरमा ७१३, रुपन्देहीमा ६५९, चितवनमा ४१०, गुल्मीमा २९२, दार्चुलामा १८८ र काभ्रेमा १५२ जनामा डेंगु पुष्टि भएको छ ।

नेपालमा पहिलो पटक २०६१ मा चितवन जिल्लामा पहिलो पटक डेंगुका बिरामी भेटिएका थिए । सो समय यता हरेक दुई तीन वर्षको अन्तरालमा डेंगु रोग प्रकोपका रूपमा देखा पर्ने गर्छ । यसअघि २०१९ मा प्रकोपका रूपमा फैलिएको थियो । सोही समयमा १७ हजारभन्दा बढीमा डेंगु पुष्टि हुनुका साथै छ जनाको मृत्यु भएको थियो ।

जलवायु परिवर्तनले डेंग बढ्दैछ : सचिव पोखरेल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेल तीव्र र अव्यवस्थित सहरीकरण, जलवायु परिवर्तन र जनसङ्ख्या वृद्धिका कारण डेंगु तीव्र गतिमा फैलिरहेको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “डेंगुको प्रकोप सामान्यतया मौसमी हुन्छन् । वर्षयाम र त्यसपछिको समयमा सङ्क्रमणदर उच्च हुन्छ ।”

डेंगुविरुद्ध लड्न बहुक्षेत्रीय संलग्नता आवश्यक भएको भन्दै मन्त्रालयले रोगको रोकथाम र नियन्त्रणका लागि विभिन्न सरकारी निकायसँग सहकार्य गर्दै आएको जानकारी दिनुभयो ।

लामखुट्टेको प्रजनन स्थल नष्ट गरी डेंगुको वृद्धि नियन्त्रण गर्न व्यक्तिगत तथा सामुदायिक प्रयास आवश्यक रहेको उहाँको भनाइ छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा.चुमन लाल दासले साउन महिनादेखि डेंगु सङ्क्रमण निरन्तर रूपमा बढ्दै गएको बताउनुभयो । लामखुट्टेको टोकाइबाट बच्ने र डेंगु सङ्क्रमित व्यक्तिहरूको उचित व्यवस्थापन गर्ने डेंगु रोकथाम तथा नियन्त्रणका प्रमुख उपायहरू भएको उहाँ बताउनुहुन्छ ।

डेंगु नियन्त्रणका लागि सरकारका साथै व्यक्ति, समुदाय र प्रमुख सरोकारवालाहरूको नियन्त्रण र दिगो प्रयास आवश्यक रहेको डा. दासले उल्लेख गर्नुभयो ।

व्यक्तिगत सुरक्षा, घर परिवार समुदाय कार्यस्थल निर्माणस्थल र सार्वजनिक स्थलमा लामखुट्टे प्रजनन स्थलहरूको खोजी र नष्ट गर्ने र ढल निकासको व्यवस्थापनजस्ता कार्यमा सबै सरोकारवालाको सहयोग र सहकार्य आवश्यक रहने उहाँले बताउनु भयो । 

डेंगु नियन्त्रणलाई तीव्रता दिन महाशाखाले प्रदेश जिल्ला तथा स्थानीय निकायसँगको समन्वयमा डेंगु सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

महाशाखाले उच्च जोखिममा रहेका स्थानीय क्षेत्रहरूमा डेंगु सार्नसक्ने लामखुट्टेको निगरानीका गतिविधि सञ्चालन गरिहरेको उहाँले उल्लेख गर्नुभयो ।

सरकारले डेंगु नियन्त्रण तथा रोकथामका लागि प्रत्येक शनिबार बिहान १० बजे ‘१० मिनेट छुटाई घरभित्र र बाहिर लामखुट्टेले फुल पार्ने ठाउँ खोजौँ र नष्ट गरौँ’ भन्ने नारासहित राष्ट्रिय अभियान सञ्चालन गरेको छ ।