ललितपुरको पुल्चोकस्थित आरुस लाइफस्टाइल अस्पतालले विश्व मधुमेह दिवसको अवसरमा हरेक १० मध्ये एक व्यक्तिमा मधुमेहको समस्या देखिएको तथ्याङ्क सार्वजनिक गरेको हो। 

अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष शाक्यले अस्वस्थकर जीवनशैलीका कारण मधुमेह लगायतका नसर्ने रोग बढ्दै गएको बताउनुभयो।  मधुमेहको समस्या हाल युवा उमेरमा पनि बढ्दै गएको उहाँले जानकारी दिनुभयो। 

उहाँका अनुसार विश्वमा ५३७ मिलियन वयस्क २० देखि ७९ वर्षका मानिसका मधुमेहको समस्या रहेको छ। १.२ मिलियन भन्दा बढी बालबालिका र किशोर किशोरी १९ वर्षसम्ममा टाइप वान  देखिएको छ। 

उहाँका अनुसार करिब ५१ प्रतिशत मधुमेह रोगीको पहिचान हुन सकेको छैन। २५ प्रतिशत जनसङ्ख्यालाई मधुमेह हुने सम्भावना देखिएको छ।

अस्पतालका मेडिकल निर्देशक डा. अमित शाक्यले नेपालमा मधुमेह ग्रामीणमा भन्दा सहरी क्षेत्रमा बढी देखिएको जानकारी दिनुभयो। उहाँका अनुसार मधुमेहको व्यापकता सहरी क्षेत्रमा १५ प्रतिशत र ग्रामीण क्षेत्रमा पाँच प्रतिशत रहेको छ। 

मेडिकल निर्देशक डा. शाक्यले जीवनशैली परिवर्तन गरे मात्र मधुमेहको समस्याबाट बच्न सकिने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, ‘पहिला मधुमेह ४० वर्ष कटेका बुढापाकालाई हुन्थ्यो, अस्वास्थ्यकर जीवनशैलीका कारण पछिल्लो समय युवामा पनि मधुमेहको समस्या देखिन थालेको छ। जीवनशैलीलाई सुधार नगरेसम्म यसबाट बच्न सकिँदैन।’

डा. शाक्यका अनुसार विश्व मधुमेहको अवसरमा आरुस अस्पतालले फोके वाक-वाक फर हेल्थ, डोनेट फर कज’ भन्ने नारासहित वाकाथन कार्यक्रम गर्न लागेको  छ। उक्त कार्यक्रम कार्तिक २६ गते शनिबार बिहान ७ बजेदेखि सुरु हुनेछ। 

नेपालमा मधुमेहको समस्या बढिरहेको भन्दै अस्पतालले जनचेतना जगाउन उक्त कार्यक्रम आयोजना गर्न लागेको हो। वाकाथन कार्यक्रम पाटन दरबार स्क्वायर परिसरबाट सुरु भएर पुल्चोक, कुपण्डोल हुँदै माइतीघर मण्डलामा गएर समापन हुनेछ। 

कार्यक्रममा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन र काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डङ्गोलको उपस्थित रहने अस्पतालले जनाएको छ।  सोही अवसरमा आरुस अस्पतालले निःशुल्क मधुमेह परीक्षण गर्ने कार्यक्रम रहेको छ। 

नोभेम्बर १४ का दिन विश्वभर विश्व मधुमेह दिवस मनाउने गरिन्छ।