काठमाडौँ, असोज २४ गते । 

असोज १ देखि २३ गतेसम्म २० हजार ९६८ जनामा डेंगु पुष्टि भएको छ भने ३१ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडि)को तथ्याङ्कमा असोज महिनामा मात्रै २० हजार ९६८ जनामा डेंगु पुष्टि भएको र ३१ जनाको मृत्यु भएको उल्लेख छ ।

गत भदौ ३१ गतेसम्म १३ हजार सात जनामा डेंगु पुष्टि हुनुका साथै १३ जनाको मृत्यु भएको थियो । 

इडिसिडिका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार भदौ र असोज दुई महिनाको अवधिमा ४४ जना डेंगु सङ्क्रमित मृत्यु हुनुका साथै ३३ हजार ९७५ जनामा डेंगु पुष्टि भएको छ ।

चिकित्सकका अनुसार डेंगुको ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । एडिस जातका लामखुट्टेले घाम उदाएको दुई घण्टापछि र घाम अस्ताउनुभन्दा दुई घण्टा अघि सक्रिय हुने हुँदा सचेत रहन चिकित्सकको सुझाव छ ।

-गोरखापत्र