बुढानीलकण्ठ — पछिल्लो समय बजारमा देखिएको खाना पकाउने ग्यासको कृत्रिम अभाव र सम्भावित कालाबजारीलाई मध्यनजर गर्दै बुढानीलकण्ठ नगरपालिकाले सक्रियता बढाएको छ। उपभोक्ताको हकहित संरक्षण र सुरक्षालाई प्राथमिकता दिँदै नगरपालिकाले नगर क्षेत्रभित्रका विभिन्न ग्यास डिपोहरूमा छड्के अनुगमन गरेको हो।
मध्यपूर्वमा जारी तनावका कारण विश्व बजारमा ऊर्जा आपूर्तिमा परेको असरको बहानामा स्थानीय बजारमा ग्यास लुकाउने वा बढी मूल्यमा बिक्री गर्ने गुनासो बढेपछि नगरपालिकाले यो कदम चालेको हो।
नगरपालिकाको अनुगमन टोलीले डिपोहरूमा पुगेर निम्न विषयहरूमा सुक्ष्म जाँच गरेको छ:
-
कालाबजारी नियन्त्रण: ग्यास स्टक राखेर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने कार्यलाई रोक्ने।
-
मूल्य र तौलमा पारदर्शिता: तोकिएको भन्दा बढी मूल्य लिने र सिल गरिएको ग्यासको तौलमा ठगी हुने सम्भावनाको जाँच।
-
गुणस्तर र सुरक्षा: ग्यास सिलिन्डरको म्याद, लिकेज र भण्डारण स्थलको सुरक्षा मापदण्डको निरीक्षण।
अनुगमनका क्रममा केही डिपोहरूलाई प्रक्रियागत सुधार गर्न सुझाव दिइएको छ भने मापदण्ड विपरीत गतिविधि गर्नेलाई कडा चेतावनी दिइएको छ। नगरपालिकाले व्यवसायीहरूलाई निर्देशन दिँदै भनेको छ:
"वर्तमान संकटको घडीमा उपभोक्तालाई दुःख दिने वा बढी मूल्य असुल्ने कार्य असह्य हुनेछ। यदि कोही व्यवसायी मापदण्ड विपरीत वा कालाबजारीमा संलग्न पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिनेछ।"
नगरपालिकाको यो सक्रियतासँगै स्थानीय उपभोक्ताहरूले राहत महसुस गरेका छन्। बजारमा ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न र मूल्य नियन्त्रण गर्न यस्ता अनुगमनलाई निरन्तरता दिनुपर्ने माग स्थानीयको छ। नगरपालिकाले पनि बजारमा कुनै पनि प्रकारको ठगी भएमा तत्काल नगरपालिकाको उजुरी शाखा वा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन नगरबासीलाई अनुरोध गरेको छ।

प्रतिकृयाहरु