काठमाडौँ — काठमाडौँ महानगरपालिका–३, बाँसबारीमा लगातारको वर्षाका कारण दुई तले घर भासिएर कोल्टे परेको छ। बिहीबार राति करिब ८ः१५ बजे हरि श्रेष्ठको साढे दुई तले घर भासिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाका अनुसार प्रारम्भिक अनुसन्धानमा निरन्तरको वर्षाका कारण घरको संरचना कमजोर भई भासिएको हुनसक्ने देखिएको छ।
उक्त भवनमा गेस्ट हाउस सञ्चालन हुँदै आएको थियो। घर भासिएर कोल्टे परे पनि घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
घटनापछि सम्बन्धित निकायले घटनास्थलको अवस्था निरीक्षण तथा आवश्यक सुरक्षा व्यवस्थापनतर्फ ध्यान दिएको छ। वर्षाका कारण जमिनको अवस्था कमजोर भइरहेका बेला पुराना तथा जोखिमयुक्त भवनमा थप सावधानी अपनाउनुपर्ने देखिएको छ।
प्रहरीले घटनाको वास्तविक कारणबारे थप विवरण संकलन भइरहेको जनाएको छ।

प्रतिकृयाहरु